अमेरिकाले नेपालसहितका १६ मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं, जेठ २० : अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध खोप उपलब्ध गराउने भएको छ ।

कुल दुई करोड ५० लाख डोज खोज विभिन्न मुलुकमा उपलब्ध गराउने घोषणा अमेरिकाले गरेको हो । त्यसमध्ये ७० लाख डोज नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवान्युगिनी, ताइवान र प्यासिफिक आइल्यान्डमा पठाउने अमेरिकी घोषणा छ ।

१६ वटै मुलुकमा समानुपातिक रूपमा खोप वितरण भयो भने नेपालको भागमा करिब चार लाख ३७ हजार डोज पर्नेछ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो ट्विटर ह्यान्डलमार्फत खोप उपलब्ध गराउने घोषणा गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।

अमेरिकी घोषणाअनुसार करिब ६० लाख डोज दक्षिण र मध्य अमेरिकी मुलुकमा उपलब्ध गराइनेछ । यस्तै, करिब ५० लाख डोज अफ्रिकी मुलुकहरूलाई पठाइने छ । थप ६० लाख डोज क्षेत्रीय प्राथमिकता र व्यापार साझेदार १२ वटा मुलुक र अमेरिकाकै फ्रन्टलाइन कामदारका लागि उपलब्ध गराइने छ ।