पाँच पूर्वप्रधानमन्त्रीहरूको सरकारलाई चेतावनी

काठमाडौं, जेठ २९ : पाँचजना पूर्वप्रधानमन्त्रीहरूले दीर्घकालीन प्रकृतिका काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

उनीहरूले कामचलाउ सरकारको गलत काममा संलग्न नहुन प्रशासन, सुरक्षा निकायलगायत राज्यका निकायहरूलाई पनि आग्रह गरेका छन्।

देशको संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्यमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन उनीहरूले नेपाली जनता, नागरिक समाज र लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका छन्।

ढुंगा, गिटी निकासीसम्बन्धी निर्णय तत्काल फिर्ता लिन पनि उनीहरूले माग गरेका छन्।

प्रधानमन्त्री केपी ओलीबाट एकपछि अर्को गर्दै संविधानमाथि प्रहार भइरहेको उल्लेख गर्दै उनीहरूले यस्तो अवस्थामा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप तथा चलखेल हुन सक्नेतर्फ सजग गराएका छन्।

नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको उल्लेख गर्दै उनीहरूले भनेका छन्, ‘गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कार्य असंवैधानिक भनी सर्वोच्च अदालतले ठहर गरेको अवस्थामा पुनः दोस्रोपटक पनि विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पार्नुभएको छ।’