असार ७ सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा, बिहान ११ बजे सम्म तरकारी र पुस्तक पसल खोल्न पाइने

काठमाडौं, जेठ ३० : कोरोना भाइरसको संक्रमण दर कम हुँदै गए पनि जोखिम घटिनसकेको भन्दै उपत्यका प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज (आइतबार) बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले बताए।

पहिला नै घोषणगरिएको निषेधाज्ञा जेठ मसान्तसम्म कायम रहने भएकाले असार १ बाट ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय बैठकले गरेको हो।

थप गरिएको निषेधाज्ञामा पहिलाभन्दा अलिकति खुकुलो पारिएको प्रजिअ पराजुलीले बताए । तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुोल्न दिने निर्णय गरिएको उनले जानकारी दिए।

उनका अनुसार अलनाइन होम डेलिभरी सेवालाई पनि सञ्चालन गर्न दिने निर्णय भएको छ।

शैक्षिक सत्र प्रारम्भ हुने बेला भन्दै पुस्तक पसल पनि खोल्न दिने निर्णय पनि बैठकले गरेको छ। पुस्तक पसल पनि बिहान ११ बजेसम्म नै खोल्न दिइने बताइएको छ।

निर्माण कार्यलाई सहज बनाउन भन्दै गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाका प्रजिअलाई निर्देशन दिएबमोजिम काठमाडौं उपत्यकामा अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ।

खेतीपातीको समय भएकाले कृषिसम्बन्धी कार्यलाई पनि सहज बनाउने, भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि कडाइ नगर्ने निर्णय भएको प्रजिअ पराजुलीले बताए। जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने विषयमा कुनै निर्णय नभएको बताइएको छ।