ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोज्न नेकपा (एमाले) युवा संघ आग्रह

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालनिकट नेकपा (एमाले)को युवा संघ नेपालको बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन माग गरेको छ। संघले मंगलबार पाँच बुँदे प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसमक्ष आफ्ना माग राखेको हो।

युवा संघले एक पद त्यागेर ओलीलाई पार्टीको एकता पक्षमा उभिन र कार्यकर्ताहरूमा पार्टी एकताको सन्देश प्रवाह गर्न माग गरेको छ। प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्ने आत्मालोचना गरेर अघि बढ्न समेत माग गरेको वक्तव्यमा उल्लेख छ।

युवासंघ नेपालले नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरेको छ भने विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटो हुने भन्दै नेताहरूलाई एक ठाउँमा राखेर सो कमिटी ब्युँताएर बैठक बोलाउन भनिएको छ।

पछिल्लो समय कोरोना भाइरसको महामारीले मुलुक आक्रान्त भएको अवस्थामा सबै नेपालीलाई खोपको व्यवस्था गर्न समेत संघले माग गरेको छ।