बाढीले सिन्धुपाल्चोकमा मच्चाएको बितण्डा (तस्विरहरु)

















तस्विरहरु : सामाजिक संजाल

बाढीले सिन्धुपाल्चोकमा बितण्डा मच्चाएको छ । लगातारको वर्षापछि मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको छ। मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ ।त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो ।

मेलम्ची नदीमा आएको बाढीले मेलम्ची र हेलम्बु बजारमा चार जना वेपत्ता भएका छन्। कयौं घरमा क्षति पुगेको छ। 

मंगलबार साँझ आएको बाढीले हेलम्बु बजार क्षेत्रका चार जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए। उनका अनुसार बेपत्ता हुनेमा तीन पुरुष र एक महिला छन्। स्थानीय बासिन्दाले भने अझै बढी वेपत्ता भएको जनाएका छन्। 

बाढीले सडक अवरुद्ध भएको छ। मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल बगेको छ। बाढीले ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन्। 
बाढीले तिम्बु, चनौटे र मेलम्ची बजारमा व्यापक क्षति भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढीसँगै बगेर आएको लेदोले घरमा समेत क्षति पुगेको छ। 

बुधबार बिहानैदेखि  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको डिएसपी सापकोटाले बताए। क्षतिको एकीन विवरण आउन बाँकी नै रहेको उनको भनाइ छ।