आजदेखि कांग्रेसमा क्रियाशील सदस्यता छानबिन हुँदै

काठमाडौं, असार ४ : नेपाली कांग्रेसले आजदेखि क्रियाशील सदस्यता छानबिन सुरु गर्न लागेको छ। 

आउदो भदौमा हुने महाधिवेशनका लागि कांग्रेसले क्रियाशील सदस्यता छानबिन गर्न लागेको हो। अहिलेसम्म आठ लाख सदस्यको सूची तयार भएको छ। 

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका बनेको छ। काठमाडौंमा हुने महाधिवेशनको तयारीका क्रममा सदस्यता छानबिन हुन लागेको हो। 

कांग्रेसले असार मसान्तभित्र क्रियाशील सदस्यता टुंगो लागउने समय तोकेको छ। बाँकी जिल्लाले पनि यो अवधिभित्र सदस्यता पठाइसक्नुपर्नेछ। त्यसपछि स्थानीइ तहदेखि केन्द्रसम्मको नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ। 

त्यसअघि क्रियाशील सदस्यताको टुंगो लगाइनेछ। त्यसका लागि नेता रमेश लेखकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। 

कांग्रेसको १३औं महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य रहेका थिए। यस पटक दोब्बर बनाएर १० लाख पुगाउने घोषणा गरिएको छ। अहिलेसम्म आठ लाख सदस्यको सूची तयार भइसकेको छ। 

अहिले सूचीकृत भएका आठ लाखमध्ये तीन लाख ८० हजार पुराना सदस्य छन्। उनीहरूको नविकरण गरिएको छ। 

त्यस्तै, चार लाख २० हजार नयाँ सदस्य छन्। उनीहरूको पनि इन्ट्री भइसकेको छ। 

अझै दुई लाख सदस्य इन्ट्री हुन बाँकी छ। यसका लागि बाँकी रहेका जिल्लाहरु बारा, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र डडेल्धुरामा काम भइरहेको छ। ढिलाइ भएका काभ्रे, प्युठान, रुकुम पश्चिममा काम चलिरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।