मेलम्चीमा गएराति आएको बाढीले प्रहरी चौकी बगायो

सिन्धुपाल्चोक, असार ५ : सिन्धुपाल्चोकको मेलम्ची नदीमा गएराति फेरि बाढी आएको छ। बाढीले हेलम्बु क्षेत्रमा क्षति पु¥याएको छ। 

गएराति आएको बाढीले हेलम्बु गाउँपालिकास्थित प्रहरी चौकी बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढी आउन थालेपछि चौकीमा कार्यरत प्रहरी सुरक्षित स्थानमा सरेका थिए। 

त्यस्तै, हेलम्बुकै ग्यालथुमस्थित इस्ट पोइन्ट एकेडेमीको भवन बाढीले बगाएको प्रहरीले जनाएको छ। यससँगै तालामाराङको तेस्रे माविको केही भागमा पनि बाढीले बगाएको छ। 

गएराति आएको बाढीले हेलम्बुकै चनौटे बजार क्षेत्रमा पनि क्षति पुगेको छ। चनौटेस्थित रातो पुलको केही भाग बगाएको प्रहरीले जनाएको छ। 

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार गएराति आएको बाढीले भौतिक संरचनामा क्षति पुगेको छ भने जमिन ब्यापकरुपमा कटान भएको छ। कयौं परिवारको खेत बाढीले बगाएको उनले बताए। 

असार १ गते साँझ आएको बाढीले हेलम्बुमा जनधनको क्षति भएको थियो। बाढीमा बगेर तीन जनाको मृत्यु भएको थियो भने अझै पनि २० जना वेपत्ता रहेका छन्। 

त्यस्तै, हेलम्बुको चनौटे, तिम्बु बजार, किउल, ग्याल्थुम, तालामाराङ लगायतका क्षेत्र प्रभावित भएका छन्। भौतिक संरचनामा क्षति पुगेको छ भने खेत बगरमा परिणत भएको छ। 

गएराति आएको बाढीले मेलम्ची बजार क्षेत्रमा पनि क्षति पुगेको छ। जमिन कटान भएको स्थानीय बासिन्दाले बताएका छन्। 

बाढीको खबर पाएपछि स्थानीय बासिन्दा भने घर छोडेर सुरक्षित स्थानमा सरेका छन्। जसले गर्दा मानवीय क्षतिबाट भने जोगिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।