प्रधानमन्त्रीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलियो : विपक्षी गठबन्धन

काठमाडौं, असार ८ : विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् ।

विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीकै कारण नपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको बताएका हुन् । उनीहरुले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको आरोप समेत लगाएका छन् ।

‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ,’ वक्तव्यमा उल्लेख छ ।

कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न सरकारको अक्षमता तथा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव देखिएको पनि उनीहरुको ठहर छ । वक्तव्यमा कामचलाउ सरकारका प्रधानमन्त्रीले पछिल्लो पटक नियुक्त गरेका २० मन्त्रीको पद सर्वोच्च अदालतले मंगलबार खारेज गरेको विषयमा भने गठबन्धनले केहि उल्लेख गरेको छैन् ।

संयुक्त वक्तव्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।