शेरबहादुरजी केही दिनभित्रै प्रधानमन्त्री : प्रचण्ड

काठमाडौं, असार १२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

राजनीतिक बिटमा काम गर्ने संवाददाताहरूसँग संघीय संसद् भवनमा आयोजित छलफलमा प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन बदर हुने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने बताए ।

आफूमाथि प्रधानमन्त्री ओलीले अदालतमा ‘सेटिङ’ गरेको आरोप लगाएको उल्लेख गर्दै उनले त्यस्तो कुनै ‘सेटिङ’ नरहेको स्पष्ट पारे ।

सबै नेताहरूलाई एउटै बास्केटमा राखेर आलोचना गर्ने प्रवृत्ति ओली प्रवृत्ति रहेको उनले सम्झाए । ‘हामी लोकतन्त्र र गणतन्त्रका लागि लडेका नेता हौँ । केपी ओली गणतन्त्रका लागि लडेका नेता होइनन, उनी गणतन्त्र हुँदैन भन्ने नेता हुन्,’ प्रचण्डले भने ।