नाम

तर्क छ— प्रजा शब्दले राजाको शासित, रैती भन्ने अर्थ बुझाउँछ, जनता बुझाउँदैन । कुइरेको चश्मा लगाएर हाम्रो भाषालाई हेर्ने चश्माचक्षुहरूलाई के थाहा— प्रजा शब्द राजा भन्ने शब्द र संस्था उत्पत्ति हुनुभन्दा धेरै पहिलेदेखि प्रचलित नाम हो, जसको अर्थ ‘लोक’ भन्दा भारी छ । कारण : दुवै शब्दले जन वा जनता भन्ने एउटा समान अर्थ त बुझाउँछन् तर त्यस बाहेक ‘प्रजा’ शब्दले मानिसका सन्तान अर्थात् चेतना भएका व्यक्ति भन्ने अर्को विशिष्ट अर्थ पनि बुझाउँछ । उता ‘लोक’ ले चाहिं सामान्य रूपमा आँखाबाट देखिने निर्जीव वस्तु (ग्रह / पिण्ड) भन्ने दोस्रो अर्थ बुझाउँछ, जस्तै– चन्द्रलोक ।


नाममा के छ ? गुलाफलाई अर्को कुनै नाम दिए पनि मीठो बास्ना त उही हो ! — शेक्सपियर


बेलायतका विलियम शेक्सपियरकै भाकामा भारतका अब्दुर्रहीम खानखाना भन्छन्— ठूला मानिसलाई सानै नामले पुकारे पनि ती घटेर साना हुँदैनन् । चाहे गिरिधर भन्नोस् अथवा मुरलीधर, कृष्णलाई के फरक पर्छ ?

नाम भनेको सामाजिक सहमति हो । एक खालको फूललाई गुलाफ भनेर चिन्ने हाम्रो सामाजिक सहमति छ, त्यसैले त्यो गुलाफ भयो । त्यसलाई रोज भन्ने सहमति शेक्सपियरको समाजमा छ, त्यसैले त्यहाँ त्यसको नाम गुलाफ नभएर रोज भएको छ । रूसी, चिनियाँ, नर्वेली वा रुवान्डाली समाजमा त्यो न गुलाफ हो न त रोज नै ।

चलिआएको, समाजमा स्वीकृत भैसकेको नाममा अनावश्यक कचिंगल मच्चाउनुको कुनै अर्थ छैन । सारमा परिवर्तन छैन भने नाममा किचकिच गरेर के फाइदा ? तर उही वस्तु, उही कुरालाई बुझाउने नाम फेरेर मानिस क्रान्तिकारी भएको भ्रम सँगाल्छन् र वितरण पनि गर्छन् । काँडाविहीन गुलाफ बनाउन सक्ने सामर्थ्य, प्रयास वा चाहनासम्म पनि हुँदैन, तर ती भन्छन्— गुलाफको पहिलो अक्षरबाट दुर्गन्ध आउँछ र शुरूका दुई अक्षरले पनि फोहोरी वस्तुको चित्र आँखासामु उभ्याउँछन् । त्यसैले परम्परालाई तोडेर यसको नाम बदल्नुपर्छ र ‘सुलाफ’ राख्नुपर्छ ।

लंगडो मानसिकता यस्तै तर्कको लौरो टेकेर उभिन्छ र खर्ल्याङखुट्टी गर्दै अर्काको टाउकामा त्यही लौराले हिर्काउन धक मान्दैन । यस्तै लौराको आडमा प्रजातन्त्र शब्दलाई लोकतन्त्रले विस्थापित गर्दैछ । तर्क छ— प्रजा शब्दले राजाको शासित, रैती भन्ने अर्थ बुझाउँछ, जनता बुझाउँदैन । कुइरेको चश्मा लगाएर हाम्रो भाषालाई हेर्ने चश्माचक्षुहरूलाई के थाहा— प्रजा शब्द राजा भन्ने शब्द र संस्था उत्पत्ति हुनुभन्दा धेरै पहिलेदेखि प्रचलित नाम हो, जसको अर्थ ‘लोक’ भन्दा भारी छ । कारण : दुवै शब्दले जन वा जनता भन्ने एउटा समान अर्थ त बुझाउँछन् तर त्यस बाहेक ‘प्रजा’ शब्दले मानिसका सन्तान अर्थात् चेतना भएका व्यक्ति भन्ने अर्को विशिष्ट अर्थ पनि बुझाउँछ । उता ‘लोक’ ले चाहिं सामान्य रूपमा आँखाबाट देखिने निर्जीव वस्तु (ग्रह / पिण्ड) भन्ने दोस्रो अर्थ बुझाउँछ, जस्तै– चन्द्रलोक । अब भन्नोस्, भाषाको तराजुमा हाल्दा कुन शब्दको अर्थ भारी हुँदो रहेछ ?

राजतन्त्र गयो त्यसैले राज शब्दसँग घृणा गर्नुपर्छ भन्ने अर्को शब्दद्रोही तर्क छ । तर्कबहादुरहरूले लोकतन्त्र बलियो पार्ने एकमात्र उपाय देखेका छन्— राज शब्द हटाएर त्यसको ठाउँमा सर्वत्र लोक शब्द राख्ने । युरेका ! शहरभरि सबैतिर हरियो रंग पोतेर वातावरण संरक्षण गर्ने काठमाडौं महानगरको पुरानो ‘आइडिया’ को जुम्ल्याहा भाइ जस्तो लाग्ने यही तर्कको पुच्छर समातेर एकजना क्रान्तिकारी अर्थमन्त्रीले राजमार्गलाई लोकमार्ग भनेर न्वारन गरे । (मानिसहरू भन्छन्, त्यसको नाम त लोकमार्ग होइन परलोकमार्ग राख्दा पो बढी सार्थक र यथार्थमुखी हुन्थ्यो ! ) के थाहा, अब राजदूतलाई लोकदूत, राजनीतिलाई लोकनीति, देवराजलाई देवलोक, देवेन्द्रराजलाई देवेन्द्रलोक र राजविराजलाई लोकविलोक भन्न थालियोस् । अथवा शब्दकोषबाटै राज शब्दलाई विस्थापित गरियोस् ।

शब्दसँगको द्वेष राज शब्दमा मात्र सीमित छैन । सामन्तवादको गन्ध आयो र राष्ट्रियता कमजोर हुनेभयो भनेर नाम फेर्ने र त्यति गर्नासाथ क्रान्तिले पूर्णता पाइहाल्छ भन्ठान्ने उपबुज्रुकहरूको लर्को आँखाले भ्याइनसक्नु छ । तर तिनकै अगुवाले आफ्नै नाम चाहिं किन नफेरेका होलान्— अचम्म लाग्छ । जस्तै : मथुराप्रसादको नामले राष्ट्रियताको अवमूल्यन गर्छ । विदेशको दलाल जस्तो देखिने त्यो नामको सट्टा असनप्रसाद अथवा बनेपाप्रसाद किन नराखेको होला ? डिल्ली र राज शब्द मिसिएको डिल्लीराज डबल प्रतिगामी नाम भयो, त्यसको सट्टा काठमाडौंलोक नाम किन प्रयोग नगर्ने ? अझ देवेन्द्रराजमा त देव, इन्द्र र राज तीनवटै शब्द सामन्त, शोषक र राजतन्त्रका प्रतीक एवं पर्यायवाची छन्, लोकतान्त्रिक गणतन्त्रमा तिनलाई बोकेर कति हिंड्ने ? पहाडी उपनामले मधेशीलाई ठाडै विभेद गर्छ, त्यसको सट्टा नेपाली वा समावेशी भन्ने उपनाम किन नराख्ने ? स्टालिनमान र चिनियाँमानदेखि भारती र भारतदत्त सम्मको लोकतान्त्रिक रूपान्तरण किन  नगर्ने ? बाबुराम शब्दले आफ्नो बाबु राम हो (अर्थात् जसलाई लोकले उसको बाबु भनेर चिन्ने गरेको छ त्यो वास्तविक बाबु होइन) भन्ने  घोषणा गर्छ । बाबु मात्र होइन आमाको समेत गरिमामा प्रश्नचिन्ह खडा गर्ने त्यो नाम बाबुरामले तत्काल किन नफ्याल्ने ? अनि माधवकुमार अझ पनि ‘कुमार’ नै हुन् भने तिनका सन्तान चाहिं कसबाट जन्मिए ?

गिरिजाप्रसादले वाइसीएललाई यंग क्रिमिनल लीग भनिदिंदा माओवादीहरू आगो भए । तर क्रिमिनलको सट्टा कोअर्डिअल (मैत्रीपूर्ण) अथवा कन्टिनेन्ट (ब्रह्मचारी) शब्द प्रयोग गर्दैमा वाइसीएलको चरित्र फरक हुन्थ्यो त ? प्रयोग गरिने शब्दले सही अर्थ बुझाउनुपर्छ भन्नेमा शंका छैन । तर चरित्र, स्वभाव, स्तर, कार्यशैली, प्रवृत्ति, मनोवृत्ति आदि यथावत् राखेर शब्द मात्र फेर्नुको के अर्थ हुन्छ ? फुटपाथको चियापसल माथि ‘फाइव स्टार’ को साइनबोर्ड लगाउनुको के तुक ?

नेपाली गुरुहरूले समुद्रपारिबाट नेपाल आएका शब्दहरूको मोटो श भ्यासेक्टोमी गरेर पातलो पारिदिएका छन् । उनीहरूको कृपाले उताका शेक्सपियर हामीकहाँ ‘सेक्स–पियर’ भएका छन्, जसको अर्थ हुन्छ— यौन जोडा । नाममा केही छैन भन्ने ती बूढा स्वर्गबाट नेपाल झरे भने आफ्नो नामको बिजोग देखेर के भन्थे होलान् ? जुलियटको मुखबाट भनाइएको ‘नाममा के छ ?’ भन्ने उक्ति कायमै राख्थे होलान् कि थाप्लामा हात राखेर डिलिट गर्थे होलान् ?

यो साता २०६६ मंसीर १९–२५, शुक्रवार