आयल निगमले पेट्रोल, डिजल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढायो
नेपाल आयल निगमले आयल निगमले पेट्रोल, डिजल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य आज राति १२ बजेदेखि लागू हुनेगरी बढाएको छ । आयल निगमले यसअघि असार ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।
त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर १९ अमेरिकी डलर वृद्धि गरिएको छ।
अब प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ। एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ।