एउटा आत्महत्याको आत्मस्वीकृति

आफ्नो जीवनभरि छातीमा लुकाएर राखेको रहस्य म यो अन्तकालमा उद्घाटित गर्दैछु । पूर्वजन्ममा पनि मेरो नाम कार्ल नै थियो र थर चाहिं मार्क्स। उही कार्ल मार्क्स , जसले दास क्यापिटल लेख्यो र जो साम्यवादको विधाता मानिन्छ ।


‘हलो, वस्तीजी ! के छ ? …हेर्नोस् न, जर्मन एम्बेसीको पार्टीमा जानुपर्ने, बेला भइसक्यो …जान लाग्या !’ 

चहकिलो थ्री–पीस सूट, टाई र टल्किंदो जुत्तामा सजिएका तिनले मसँग हात मिलाउँदा महँगो फ्रेन्च अत्तरको गन्धले मेरो नाकको तीव्र स्पर्श गरिरहेको थियो । उनी देब्रे हातले एउटी ‘उदार दिल भएकी’ भनेर बहुचर्चित, स्वजातीय ‘हिरोइन’ लाई अर्ध–अंकमाल गरेर मतिर आएका थिए ।

‘केको पार्टी ?’ भनेर सोधेपछि मैले थाहा पाएँ— जर्मनी एकीकरण भएको उपलक्ष्यमा आयोजित पार्टी ।

सर्वमान्य नेता गणेशमान सिंहले २०४७ साल असोज १७ गते आयोजना गर्नुभएको चियापान समारोहमा यस्तो ‘जम्काभेट’ भएपछि मेरो मस्तिष्क रन्थनियो । ’cause, उनी थिए माओको लाइनलाई यथावत् लागू गर्न चाहने अति–उग्रवादी कम्युनिष्ट घटकका सक्रिय सदस्य तथा पत्रकार, जो २०४८ को आम निर्वाचनमा राजधानीबाट सांसदका उम्मेदवार पनि भए ।

रन्थनिएको दिमाग रातभरि रन्थनिइरह्यो । र, भोलिपल्ट बिहान मुख पनि नधोई जे कोरियो, त्यो आफू सम्पादक रहेको पत्रिकामा आफ्नो स्तम्भका लागि आफैंले निर्धारित गरेकोे निश्चित ठाउँमा नअट्ने भएपछि झन्डै दुई वर्ष त्यसै थन्किन पुग्यो । प्रस्तुत छ त्यही रचना ।         

********************  

राति दूतावासमा पार्टी थियो, जर्मनी एकीकरणको उपलक्ष्यमा । खूब धूमधाम भयो । भाषण भयो । नाचगान भयो । ह्विस्कीको खोलो बग्यो । मासुको पहाड ढल्यो । हाँसोका फोहरा छुटे । ठूलठूला कुरा कथुरिए । र, घण्टाघरले १२ हानेपछि अतिथिहरू बिदा भए ।

भोलिपल्ट बिहान दूतावासको बूढो कर्मचारी कार्ल एन्डरसनको लाश पार्टी भएको कोठामा झुण्डिरहेको पाइयो । कर्मचारीहरू स्तब्ध भए, प्रहरी व्यस्त । कर्मचारीहरू भन्थे— हिजो राति पार्टीमै कार्लको व्यवहार बडो विचित्रको थियो । बडो छक्क, बडो उद्विग्न, बडो हताश देखिन्थ्यो ऊ । प्रहरीहरू खासखुस गर्थे— उपरीक्षक साहेबले बूढाको गोजीमा एउटा खामबन्दी चिठी फेला पार्नुभा’छ । शायद त्यसले रहस्य खोल्ला ।

जब पोस्टपार्टमको रिपोर्टले पनि कार्ल एन्डरसनले आत्महत्या गरेको घोषित गर्यो, प्रहरी उपरीक्षक गजेन्द्रले त्यो खाम खोल्यो । राजदूत लगायत सम्पूर्ण कर्मचारी उत्सुक भएर वरिपरि उभिएका थिए । उसले चिठी पढ्न शुरू गर्यो :

म, कार्ल एन्डरसन, यस पत्रद्वारा आफ्नो पूरा विवेक र होश–हवासका साथ आत्महत्याको आत्मस्वीकृति गर्न चाहन्छु । तपाईंहरूलाई लागेको होला, बूढाले गल्ती गर्यो । तर मलाई विश्वास छ, मेरो विडम्बना र दुःखान्त बुझिसकेपछि तपाईंहरूले आफ्नो धारणामा अवश्य परिवर्तन गर्नुहुनेछ ।

आफ्नो जीवनभरि छातीमा लुकाएर राखेको रहस्य म यो अन्तकालमा उद्घाटित गर्दैछु । पूर्वजन्ममा पनि मेरो नाम कार्ल नै थियो र थर चाहिं मार्क्स । उही कार्ल माक्र्स, जसले दास क्यापिटल लेख्यो र जो साम्यवादको विधाता मानिन्छ ।

आफ्नो पूर्वजन्मको ज्ञान मलाई युवावस्थामा एउटा भीषण हवाईजहाज दुर्घटनापछि भयो, जसमा संयोगवश म एक जना मात्र बाँच्न पुगेको थिएँ । त्यसबेला मैले आफू माक्र्स छँदाको सिंगो संसारलाई एउटा स्वप्नलोकमा परिणत गर्ने मीठो सपनामा डुबेको कम्युनवादी उत्साह र उमंगलाई प्रत्यक्षतः अनुभव गरें । त्यो त्यस जन्मको मेरो आदर्श थियो । तर त्यसपछि जब मैले आफ्नो टाउको उठाएर आजको संसारतिर हेरें, आफ्नो सपनाको सीसा–घरलाई निर्मम यथार्थको घनले चकनाचूर बनाइसकेको पाएँ । प्रहरी र मुद्रा समेत नरहने आदर्श परिकल्पनामा बाँचेको मेरो स्वप्नलोक सैनिक तानाशाही, क्रूरता र अमानवीयताको अधिनायकवादी यथार्थमा अनूदित भइसकेको रहेछ । राज्यको भूमिका घट्दै गएर अन्ततः त्यसको समाप्ति नै हुने मेरो सपना जनताका एक–एक श्वास–प्रश्वास र चाहनामाथि समेत नियन्त्रण राखेर व्यक्तिगत स्वतन्त्रताको पूर्णतः अपहरण गर्ने कठोर सर्वसत्तावादी राज्यमा रूपान्तरित भइसकेको रहेछ । शोषित जनताले उठेर कम्युनिष्ट क्रान्ति गर्ने सपनाको विपरीत धोखा, बेइमानी र सैनिक आतंकवादले कम्युनिज्म स्थापित र सञ्चालित भइरहेको रहेछ । मेरो सिद्धान्त अन्धपरम्परा र अन्धविश्वासका विरुद्ध पनि उभिएको हो तर मैले देखें, कम्युनिष्टहरू मेरा शब्द र हरपहरूप्रति श्राद्धमा बिरालो बाँध्ने काँटको अन्धपरम्परामा भासिएका छन् । मलाई लाग्यो, यदि मैले आफ्नो वास्तविक सपना र धारणालाई स्पष्ट्याउन खोजें भने आजका कमरेडहरूले मलाई नै प्रतिक्रियावादी भनेर साइबेरिया पठाउनेछन् वा सेक्युरितातेको भोग चढाउनेछन् । म भयभीत भएँ र मौन रहें ।

यो जिन्दगीभरि संसारलाई हेरेपछि मलाई बोध हुन थालेको छ, मेरो सिद्धान्तमा प्रशस्तै आधारभूत कमजोरीहरू रहेछन् । त्यो सिद्धान्त एकांगी र अपूर्ण रहेछ । म स्वीकार गर्छु, मेरो सिद्धान्त कताकता ईष्र्याबाट जन्मेको सिद्धान्त थियो । धनीहरूलाई देखेर निरुपाय गरीबहरूको मनमा जुन ध्वंसात्मक ईष्र्याको हुन्डरी उठ्छ, त्यसैलाई केन्द्रबिन्दु मानेर जन्मेको सिद्धान्त ! त्यसैले त कुनै पनि बहाना र तरीकाले धनीहरूको धन लुटेर देशभर गरीबहरूको एउटै जमात तयार पार्नु कम्युनिज्मको प्राथमिक लक्ष्य बन्न पुगेछ । प्रत्येक मान्छे बुुद्धि, क्षमता र चेतनाको दृष्टिले अर्कोभन्दा फरक हुन्छ भन्ने सामान्य सत्य समेत बुझ्न नसक्ता मेरो कम्युनिज्म लुटेर, चुटेर वा ठोकठाक पारेर भए पनि सबैलाई समान बनाउनुपर्छ भन्ने विकृत मानसिकताको पर्याय बन्न पुगेछ ।

अर्को आधारभूत गल्ती रहेछ, कुनै पनि वस्तुमा व्यक्तिको स्वामित्व रहन नदिने पलायनवादी स्वप्न–कल्पना । आज पो झल्याँस्स हुन्छु, मैले कसरी बिर्सेंछु, आफ्नो स्वामित्व खोज्नु मानवको मूल प्रकृति हो र त्यसलाई निमिट्यान्न पार्न खोज्नु हास्यास्पद हठ मात्र हो भन्ने कुरा । म आफू नै कहाँ सकें र त्यो सिद्धान्तमा बाँधिन । म चाहन्थें— घर, जग्गा, कारखाना, सम्पत्ति आदिलाई ‘आफ्नो’ भन्न नपाइने मेरो सिद्धान्तलाई चाहिं ‘आफ्नो’ भनेर संसारभर कम्युनिष्टहरूले स्थापित गराउन् । कस्तो अन्तर्विरोधमा अलमलिएको रहेंछु म ! स्वतन्त्र चिन्तनको वातावरण र सुविधा पाएर नै मैले कम्युनिज्मको प्रतिपादन गरें, तर त्यो व्यवस्था स्वतन्त्र चिन्तनको प्रक्रियामाथि नै अंकुश लगाउने भएर निस्क्यो । स्वतन्त्र चिन्तकहरू कम्युनिस्ट मुलुकमा देशद्रोही मानिने भए । कस्तो आत्मघाती पाखण्डलाई जन्म दिएँछु मैले !

अझ ठूलो र शायद सबैभन्दा ठूलो मूलभूत गल्ती मैले गरेंछु— संसारमा पेट नै सम्पूर्ण समस्याको एकमात्र कारण हो भनेर । मानिसले पेट भरिएपछि मात्र अरू कुराका ’boutमा सोच्छ भन्दा मैले सोच्नै सकिनछु— पेटभन्दा ठूलो कुरा स्वतन्त्रता हो भनेर । मान्छे चेतनाकै कारण मान्छे बनेको हो भन्ने बिर्सेर मैले पेटबाट मात्र संचालित हुने चेतनाविहीन मान्छेको परिकल्पना गरेंछु । यस्तो मान्छे, जसमा जडता मात्र छ, चेतना र आत्मा छैन ! कति एकांगी, कति जड, कति खोक्रो र कति मूर्खतापूर्ण रहेछ मेरो सोचाइ ! आज जब म देखिरहेंछु— बाहिर बस्ता भोकै मर्न सकिने अवस्था भए पनि कुनै पनि भिखारी जेल पसेर पेट भर्न रुचाउँदैन र घोर गरीबीले गाँजेकाहरू पनि खान पाइन्छ भन्दैमा कमारो बन्न रुचाउँदैनन्, यस बेला मलाई आफ्नो धारणाको एकांगीपन छर्लंग भइरहेछ । अझ, जब जब म देख्छु— पिंजरामा दानापानी ख्वाएर आरामसाथ राखिएको सुगा पनि बाजले गाँज्न र भोकले अँठ्याउन सक्ने तर स्वतन्त्र जिन्दगीकै प्राप्तिका निम्ति रातदिन फटफटाइरहन्छ, तब छक्क पर्छु— पशुपन्छीले समेत बुझेको कुरा मैले त्यसबेला किन बुझ्न सकिनँ ! म दिक्क हुन्छु— कम्युनिष्ट हुँ भनेर दगुर्ने मेरा संसारभरिका अनुयायीहरूमध्ये एउटाले पनि यति मोटो कुरा किन बुझ्न सकेन ?   

साह्रै पछुतो लागिरहेछ मलाई । कस्तो सिद्धान्त बनाएर छोडेंछु, जसले लाटासोझा मानिसहरूलाई उल्क्याउन, अलमल्याउन, दुःख दिन र सर्वसत्तावादी तानाशाहहरूलाई जन्माउन मात्र सफलता पायो । सर्वहाराको अधिनायकत्व भनेर नारा उफारिदिंदा मैले भुसुक्कै बिर्सेंछु, अधिनायक जो भए पनि आखिर अधिनायक नै हुन्छ । यदाकदा म आफैंलाई सोध्छु— सामन्तको अधिनायकत्व र कम्युनिष्टको अधिनायकत्वमा श्रमिक–कृषकहरूले आखिर के फरक पाए त ? कम्युनिज्मका नाममा सत्तासीनहरूबाट गरिने श्रमको शोषण, उत्पीडन र राज्यको आतंक बाहेक तिनले के प्राप्त गरे त ?

त्यसैले, जब एक वर्ष यता विश्वभर कम्युनिष्ट किल्लाहरू एकपछि एक गरेर ढल्दै गए, तब मेरो मनलाई कुनै पनि आघात पुगेन । बरु मैले सोचें— बडो बेस भयो, अब त निरीह जनताले सर्वसत्तावादको कालो छायाँबाट मुक्ति पाउने भए, अब त मेरो अशान्त मनले शान्ति पाउने भयो । आखिर सेना र दमनका भरमा कतिञ्जेल कुनै अडभांगे वादलाई अड्याएर राख्न सकिन्थ्यो ! गोर्वाचोभका कारणले कम्युनिज्मको पर्खाल ढलेको पनि म मान्दिनँ । यो त प्रजातन्त्रकामी मानवीय स्वभावको स्वाभाविक उद्भास मात्र हो, एउटा सार्वभौम र चिरन्तन सत्यको विजय ! गोर्वाचोभ यसको निमित्त हुन पुगे, त्यो बेग्लै कुरा । पाकेर, पिलिएर अन्तिम अवस्थामा पुगिसकेको पिलो, सियोको टुप्पाले नघोचिए पनि एक दिन त फुट्छ, फुट्छ ।

यिनै कुराले म बडो अन्यमनस्क र उद्विग्न हुँदै गइरहेको थिएँ । मलाई आफूप्रति नै कताकता विरक्त लाग्न थालिसकेको थियो ।

तपाईंहरूलाई लाग्ला, मेरो आत्महत्याको कारण यही हो । तर पख्नोस्, त्यसो होइन । म त अझै पनि केही वर्ष बाँचेर मानवीय अस्मिताको उत्कर्ष हेर्न चाहन्थें र अर्को जन्मका लागि (विडम्बना, पुनर्जन्मको सिद्धान्त पनि म त्यसबेला मान्दिनथें) आफ्नो विचार अझ परिपक्व पार्न चाहन्थें ।

तर हिजो रातिको पार्टी …त्यसमा भाग लिन आएका यस देशका कम्युनिष्टहरू …तिनको फाइँफुट्टी र हाँसो …उफ्, मैले त सहनै सकिनँ । स्वतन्त्र चिन्तन गर्ने, स्वतन्त्र निर्णय गर्ने र मेरो सिद्धान्तका विडम्बनाहरूलाई स्वीकार गर्न सक्ने कम्युनिष्टहरू भएको भए कुरो बेग्लै थियो । तर ती थिए त्यसको कल्पना पनि गर्न नसक्ने अन्धभक्तहरू, जो संसारभरिबाट मरिसकेको कम्युनिज्मको प्रेत यस देशमा जगाउन चाहन्थे । जर्मनी एकीकरणको उदार नाम दिए पनि वास्तवमा पूर्वी जर्मनीको अस्तित्व लोप भएर त्यो भूभाग पश्चिम जर्मनीमा मिलेको कटुसत्य समेत तिनीहरू कता–कता स्वीकार्न सकिरहेका थिएनन् । तर तिनीहरू नै एकातिर कम्युनिज्म ढलेको खुशियाली–पार्टीमा विना हिचकिचाहट ह्विस्कीका बोतल रित्याइरहेका र सुँगुरका साँप्रा बुत्याइरहेका थिए भने अर्कातिर आफ्नो देशमा पुनःस्थापित प्रजातन्त्रलाई अस्थिर र अपांग पार्ने दुरभिसन्धिका मन्त्रणाहरूमा पनि मग्न थिए । प्रजातन्त्रको उपभोग पनि गर्ने र प्रजातन्त्रको हत्या पनि गर्न खोज्ने, कम्युनिज्मको नारा पनि लगाउने र कम्युनिज्मको अवसानपर्वमा हर्षगीत पनि गाउने त्यो द्वैधचरित्र देखेर म मर्माहत भएँ । मलाई लाग्यो, मेरो वास्तविक बदनामी यस्तैले गर्नेछन् र कम्युनिज्मप्रति विश्व जनमानसमा आगामी दिनहरूमा अझ उग्र घृणाको लहर पनि यस्तैले शुरु गराउनेछन् ।

त्यसैले, त्यो अवस्था भोगेर जीवन्मृत भई बाँच्नुभन्दा चाँडै यो शरीर छाडी अर्को जन्म लिनु उपयुक्त ठानेर यो कदम उठाउन लागेको छु । यिनका कृत्यहरू मैले अर्को जन्ममा इतिहासका पानामा मात्र पढ्नेछु । मेरो आकांक्षा छ, आगामी जन्ममा म कुनै प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक भएर जन्मन सकूँ, जहाँ स्वतन्त्र चिन्तन गर्न पाउने मेरो अधिकार अकुण्ठित होस् ।

 (हस्ताक्षर)

 (कार्ल एन्डरसन)

मृतकको पत्र पढिसकेर प्रहरी उपरीक्षकले मुन्टो उठाएर हेर्यो । सबैको मुन्टो निहुरिएको थियो । सबै जिउँदाहरू मुर्दा झैं निस्तब्ध थिए ।

पुनर्जागरण, २०४९ साउन ६ गते मंगलवार