एमाले अध्यक्ष ओलीले आज बिहान ११ केन्द्रीय कमिटी बैठक बोलाए

काठमाडौं, साउन ४ : नेकपा (एमाले)को आन्तरिक विवाद चर्किएको बेला आज केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कमिटी बैठक बस्नेछ।

आजको बैठकमा एमाले एकताका विषयमा छलफल हुने जनाएको छ। यससँगै संगठन निर्माण र विधान अधिवेशनका विषयमा पनि छलफल हुनेछ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। त्यहिअनुसार, सांसदहरुलाई निर्देशन दिएको थियो।

तर, एमालेका २२ जना सांसदले देउवाको विश्वासको मतको पक्षमा मतदान गरेका छन्। त्यस्तै, १० जना सांसदले मतदानमा भाग लिएनन्।

वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले देउवालाई मत दिए। जसमा अध्यक्ष ओली पक्षका पनि आठ सांसद रहेका छन्। नेपाल पक्षका १० जना सांसदले मतदानमा भाग लिएनन्।

यस विषयमा पनि आजको केन्द्रीय कमिटी बैठकमा समीक्षा हुने कार्यालय सचिव तामाङले जानकारी दिए।

आजको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यलाई पनि बोलाइएको छ। तर, उनीहरु सहभागी हुने नहुने एकीन भएको छैन।