विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

बागलुङ, साउन ५ : विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर छन्।

जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको  धौलागिरि अस्पालमा उपचार भइरहेको छ। सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए।  

मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

गम्भीर रहेका दुई जनाको डाइलासिस कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ। मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (रासस)