पगरी गुत्ने ढेडु
‘म बहुदलवादी नै हुँ हजूर ! अश्रुग्याँस खाएर भागेका दुई जना मान्छे पर्खाल नाघेर मेरो घरमा पस्ता मैले उनीहरूलाई एक–एक गिलास पानी ख्वाएको थिएँ; एक घण्टासम्म प्रहरीलाई नसुम्पी उनीहरूलाई लुकाएको पनि थिएँ ।’ गुञ्जमान साहूले आफ्नो क्रान्तिकारी व्यक्तित्व स्पष्ट पार्न कसर छोडेनन् ।

दिनभरि जुलूसमा घुम्दा घुम्दा र नेताहरूको भाषण सुन्दा सुन्दा म गलेर लोथ भइसकेको थिएँ । साँझ घर फर्केर एक कप चिया सुक्र्याएँ र ओछ्यानमा पल्टें ।
पाँच मिनेट पनि बित्न पाएको थिएन होला, पुञ्जमान दाइ आइपुगिहाले । भने, ‘आज गुञ्जमान साहूकहाँ पार्टी छ । तिमीलाई पनि बोलाएको छ । म बिहानै खबर गर्न आएको थिएँ तर तिमी हिंडिसकेका रहेछौ । ल जाऊँ ।’
हामी निस्कियौं र एक छिन पछि गुञ्जमानका घरमा पस्यौं । गुञ्जमान साहू ठूला व्यापारी हुन्, पार्टी पनि गहकिलै रहेछ । दुई जना नाम चलेका नेता आएका रहेछन्; राजनीतिक कार्यकर्ता, कलाकार, साहित्यकार, पत्रकार, बुद्धिजीवी, व्यापारी, तस्कर, मूर्तिचोर, कमीशन एजेन्ट आदिको राम्रै जमघट रहेछ।
हरेक पार्टीमा झैं त्यहाँ पनि पहिले पिउने कार्यक्रम नै शुरू भयो । समय जति अघि बढ्दै गयो, मान्छेहरू उति हिम्मतिला र खुलस्त हुँदैगए । एक जना राजनीतिक कार्यकर्ताले देब्रे मुड्की उचाल्दै भन्यो, ‘जन–आन्दोलनमा भूमिगत भएका हामी जस्ताको कदर हुनैपर्छ !’
उसको स्वरले अर्को कार्यकर्तालाई उक्साएछ । ऊ चर्को स्वरमा करायो, ‘तर तपाईंलाई कसले भूमिगत हुनु भनेको थियो ? भूमिगत भएर के गर्नुभयो ? आन्दोलनभरि कान्छा ससुराका सोल्टीकहाँ आनन्दसाथ मेजमान खाएर बस्ने पनि तपाईं, अब कदर पनि तपाईंकै हुनुपर्ने ? कदर त जुलूसमा छाती फर्काएर भाग लिई जेल जाने हामीहरू जस्ताको हुनुपर्छ ।’
यो सुनेर पहिलो कार्यकर्ता राता राता आँखा तर्दै चूप भयो, तर अर्काे कार्यकर्ता भने चूप रहन सकेन । ऊ उफ्र्यो, ‘मूल्यांकन वस्तुगत आधारमा हुनुपर्छ । जेल त जुलूस हेर्न उभिएका थुप्रै मान्छेहरूलाई पनि प्रहरीले पु¥याएको थियो । बाहिर बसेर संगठन गर्न र आन्दोलनलाई अघि बढाउन हामीले जस्तो कष्ट बेहोर्नुप¥यो, त्यसका सामु जेलको बसाइ के हो ?’
नेताहरू भने कसैको समर्थन वा विरोध नगरी मुसुमुसु हाँसिरहेका मात्र थिए । उनीहरू त्यसभन्दा बढी गर्न पनि के सक्थे र ? मुखबाट केही चुहियो र कुनै कार्यकर्ता रिसायो भने परेन आपत !
कार्यकर्ताहरूलाई तिनको किचोलोसँगै छाडेर नेताहरू अर्को कुनातिर लागे । गुञ्जमान साहूले त्यसैबेला हात जोडेर, ङिच्च–ङिच्च गर्दै बिन्ती बिसाए, ‘म बहुदलवादी मान्छे हुँ हजूर ! मेरो मूल्यांकन गरिनैपर्छ । म पार्टीलाई यथाशक्य चन्दा टक्य्राउन पछि पर्नेछैन ।’
‘के रे ? तिमी कसरी बहुदलवादी ? तिमी नै होइनौ जन–आन्दोलन प्रतीकार समितिलाई चन्दा दिने मान्छे ? तिमी नै होइनौ हामीसँग दश रुपियाँको सामानको पच्चीस रुपियाँ लिने मान्छे ?’ पुञ्जमान दाइ पड्किए ।
‘तर हजूर, म जन–आन्दोलन पीडित मान्छे हुँ । आन्दोलनका बेला मण्डलेहरूले मेरो पसलमा आक्रमण गरेका थिए ।’
‘केको मण्डलेले आक्रमण गर्नु नि ! एक त कालोबजारी गर्ने, त्यसमाथि नेपाल बन्दका दिन पनि पसल खोलेपछि जनताले ढुंगा हानेका होइनन् ?’ एक जना पत्रकारले सातो लिन खोज्यो ।
‘म बहुदलवादी नै हुँ हजूर ! अश्रुग्याँस खाएर भागेका दुई जना मान्छे पर्खाल नाघेर मेरो घरमा पस्ता मैले उनीहरूलाई एक–एक गिलास पानी ख्वाएको थिएँ; एक घण्टासम्म प्रहरीलाई नसुम्पी उनीहरूलाई लुकाएको पनि थिएँ ।’ गुञ्जमान साहूले आफ्नो क्रान्तिकारी व्यक्तित्व स्पष्ट पार्न कसर छोडेनन् ।
‘तर तिमीले त मूर्तिचोर शुण्डमणिलाई पनि एक महीनासम्म आफ्नै घरमा लुकाएर राखेका थियौ नि ?’ यो सोध्ने चाहिं राजनीतिक कार्यकर्ता नै थियो ।
‘म उसबाट पनि चन्दा दिलाउन तयार छु हजूर, तर ममाथि अन्याय नगरियोस् । म जन–आन्दोलन पीडित, बहुदलवादी हुँ ।’
गुञ्जमान साहूको जिकिर सकिंदा नसकिंदै कवि अरविन्दपाणि अघि सरे, ‘मैले आफू मात्र होइन, श्रीमती, बुहारी र नोकर्नीलाई समेत साथ लिएर मुखमा कालो पट्टी बाँधेको थिएँ । मैले भरसक एकेडेमीमै, नत्र कतैको जीएम अथवा सञ्चालक समितिको सदस्यमै भए पनि ठाउँ पाउनैपर्छ । मैले गरेको साहित्यको दीर्घसेवाको कदर…’
‘दीर्घसेवा कि साहित्यकारहरूको दीर्घ–अपमान ? हिजोसम्म सच्चा साहित्यकारहरूको जासूसी गर्दै र तिनलाई धम्क्याउँदै हिंडेको पाप एकपल्ट कालो पट्टी बाँध्नासाथ पखालियो भन्ने ठानेका छौ कि क्या हो ?’ अर्का कवि विहंगराजले उनलाई वाक्य पूरा गर्नै दिएनन् ।
‘तर म बहुदलको समर्थनमा…’
अरविन्दपाणिले यो वाक्य पनि पूरा गर्न पाएनन्, किन भने अझ अर्का कवि जीतबहादुर ‘बलिष्ठ’ बीचमै कड्किए, ‘जिन्दगीभर पूँजीपतिहरूको चाकरी गर्ने तिमी केको बहुदलवादी नि ? बहुदलवादी त म, जो २०१७ सालमा पनि जेल परेको थिएँ । यो बीचको छोटो अवधिमा जे गरें, त्यो बाहिरी मनले मात्र गरें । भित्री मनले त म बहुदलकै समर्थनमा थिएँ । मैले बहुदलको पक्षमा कति लामो कविता लेखेको छु, सुनाऊँ ?’
अब वरिष्ठ पत्रकार कलमनाथ पनि चूप लागेर बस्न सकेनन् । उनले कोटको गोजीबाट अखबार निकाल्दै भने, ‘वास्तवमा बहुदलको पक्षमा जनमत बलियो पार्ने त हामी नै हौं । लौ हेर्नोस्, आजको मेरो सम्पादकीय !’
‘अँ… हिजोसम्म आन्दोलन दबाउनेहरूको भत्ता खाने चाहिं को हो नि ?’ बहुदल आए पनि आफ्नो ‘लाइन’ फेर्न नपाएर रन्थनिएको अर्को पत्रकार चुर्मुरियो ।
‘खाने पनि आ–आफ्ना तरीका हुन्छन् बन्धु ! शुक्राचार्यले रक्सीमा घोलिएको कचलाई खाँदा कच उनको भुँडी फोरेर निस्केका थिए भने अगस्त्य ऋषिले चाहिं रूप बदलेको वातापि भन्ने राक्षसलाई खाएर आफ्नो पेटभित्रै भस्म पारिदिएका थिए । कच खाएकोमा शुक्राचार्य स्वयंलाई ग्लानि भएको थियो; वातापि खाइदिएकोमा अगस्त्य प्रशंसित भएका थिए ।’ कलमनाथले भत्ता खाने तरीकाको व्याख्या गरे, ‘तपाईंले खाएको भत्ता कच झैं भुँडी फोरेर लेखाइमा निस्कन्छ कि वातापि झैं भित्रभित्रै भस्म हुन्छ, हेर्नुपर्ने त त्यो पो हो ! तपाईंको र मेरो हिजो र आजको पनि लेखाइ दाँजेर हेरौं न; प्रत्यक्षलाई प्रमाणको के आवश्यकता ?’
‘शुक्राचार्यले स्कच खाएको ?’ सम्पादक तरलमणिले लर्बराउँदो स्वरमा आपत्ति जनायो, ‘स्कच खाँदा कसरी भुँडी फुट्छ ? सित्तैंमा पाए म सिंगै बोतल बुत्याइदिन्छु, खोइ आजसम्म मेरो भुँडी फुटेको छैन त ?’
‘स्कच होइन, कच भनेको क्या ! कच भनेको देवगुरु बृहस्पतिका छोराको नाम हो ।’ कलमनाथ खित्का छोडेर हाँस्न थाले ।
कलमनाथको व्याख्याले कलाकार शिवजीतलाई निकै जोश चढाएछ क्या’र ! उनले तिनलाई जवाफ दिन मुख चुच्याएको पत्रकारलाई रोकेर भने, ‘हेर्नोस् न, मलाई पनि मण्डले भनेर आपतै पारे । म त पञ्चायतको कट्टर विरोधी नि । यतिका वर्षदेखि गाईजात्राको बेला एकेडेमीमा व्यवस्थाविरोधी कार्यक्रम प्रस्तुत गर्दै आएको देख्नुभएकै छ !’
‘त्यही भएर होला, युवक संगठनका सक्रिय कार्यकर्ताहरूको सूचीमा पनि तपार्इंकै नाम सबभन्दा माथि रहेको, अनि मण्डलेहरूको चुनाव प्रचारमा पनि गीत गाउँदै हिंड्नुभएको !’ उनलाई पनि गायक घनराजले टिक्न दिएनन् ।
‘तर, हामी कलाकारहरूको मूल्यांकन हुनैपर्छ । बरु म एउटा वक्तव्य निकाल्छु,’ शिवजीतले रुन्चे स्वर झिके, जसको जवाफमा घनराज मुस्कुराए, ‘वक्तव्य किन ? पार्टीको सदस्यता लिए भैहाल्यो नि ? ऊ, श्यामजीले त लिइसके !’
उनीहरूको रित्तो गिलास भर्ने काममा खटाइएको बिर्खबहादुर चाहिं यी सब कुरा बुझिरहेको थिएन । बरु ऊ सम्झिरहेको थियो दश कक्षामा पढ्ने आफ्नो छोरालाई; जो कति सम्झाउँदा पनि नमानेर रात–रातभर कुन्नि कहाँ जान्थ्यो र दिनभरि बहुदल भन्दै जुलूसमा हिंड्थ्यो । यस्तै गर्दागर्दै एकदिन साँझ घर फर्केन र एक महीना जति आमा–बाबुलाई रुवाएर जब फक्र्यो, त्यसबेला उसको दाहिने खुट्टो थिएन । ‘…छिंडीको खाली कोठामा पल्टेर अहिले के सोच्तै होला, बिचरा !’
यता गायक घनराजको छेड सकिंदा नसकिंदै अर्को एक जना सूटबूटधारी, जो अहिलेसम्म गिलास लिएर चूपचाप एउटा कुनामा बसिरहेको थियो, उठेर ढलपल गर्दै नेताहरू सामु आयो र चोरऔंला ठड्याएर हिक्क हिक्क गर्दै भन्न थाल्यो, “म जनता ! मलाई भाषण सुन्न जाँदा पनि प्रहरीले समात्यो । जेल लग्यो । मैले अश्रुग्याँस खाएँ । लाठी खाएँ । गाली खाएँ । कफ्र्यू लागेको बेला नूनसँग निस्तै भात खाएँ । मेरा काका क्रान्तिकारी, मेरा मामा आन्दोलनकारी, मेरा साढु विप्लवकारी, मेरा फुपाजु नेता । खोइ मेरो मूल्यांकन भएको ? तपाईंहरू… सब बकवास !’
उसका कुराले त्यहाँ हाँसोको फोहरा छुट्यो । पुञ्जमान दाइले मेरो पिठ्यूँमा एक झप्पु दिंदै भने, ‘देख्यौ त, क्या मजा आयो ? तर खाने पालो चाहिं कतिबेला आउने हो… भोक लागिसक्यो !’
त्यो झप्पुले म झसंग भएँ । आँखा खुल्यो । यसो हेर्छु त श्रीमती पो ‘के सम्साँझै निदाएको ? भात पाकिसक्यो !’ भन्दै पिठ्यूँमा झप्पु दिइरहेकी । म त उही ओछ्यानमा !
पार्टी सपनाको भए पनि मलाई भोक चाहिं बिपनामै लागेको थियो । म आँखा मिच्तै भात खान हिंडें । लाग्यो, यस्तै मान्छेहरू भएर नै हनुमानले काम गरे पनि ढेडुले पगरी गुत्ने गरेको होला !
गोरखापत्र २०४७ जेठ २८ गते सोमवार