बिहीबार तीन बजेसम्म लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने

काठमाडौं, साउन २७ : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार अपराह्न तीन बजेसम्मको समय दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव सामना नगरी राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव गरेका छन् । उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन् ।

लुम्बिनी प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्र १८ (सभामुखसहित), जसपाका तीन र जनमोर्चाका एक गरी ४१ सांसद छन्। यस्तै, मुख्यमन्त्री पोखरेको पार्टी एमालेका ३८ सांसद छन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित सरकार बनाउन ४१ सांसद आवश्यक हुन्छन् ।