सरकारले अफगानिस्तानबाट नेपाली नागरिकको शीघ्र सकुशल उद्धार गर्ने

काठमाडौं, साउन ३२ : सरकारले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सञ्चारकर्मीहरूलाई जानकारी दिँदै न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसका लागि सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपबाट कार्य अगाडि बढाउन निर्देशन दिइएको बताए ।
भूपूब्रिटिस गोर्खा सैनिकका बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको मन्त्री कार्कीले बताए । ‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया अगाडि समेत बढिसकेको सन्दर्भमा आमरण अनसनलगायत विरोध कार्यक्रम फिर्ता लिनका लागि भूपूब्रिटिस गोर्खासँग सम्बद्ध सबैलाई आह्वान गर्ने मन्त्रिपरिषदबाट निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।