नेकपा (एकीकृत समाजवादी) नेपाल समूहको पार्टीको नाम

काठमाडौं, भदौ ४ : माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ ।

गत बुधबार नेकपा एमाले (समाजवादी) नाममा पार्टी दर्ताका लागि नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिएको थियो । त्यसमा कानूनी अड्चन आउने भएकाले पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखेर शुक्रबार अपराह्न १ बजे आयोगमा निवेदन परेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले त्यसको पुष्टि गरे । पार्टीको नयाँ नाम दर्ताका लागि राजेन्द्र पाण्डेलगायत नेता आयोगमा पुगेका थिए ।

आयोग प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको चुनाव चिह्न भने दाबी गरिएको छैन । निर्वाचनभन्दा अगाडि चुनाव चिह्न लिन सकिने भएकाले पनि नयाँ पार्टी दर्ताका लागि त्यसले नछेक्ने श्रेष्ठले जानकारी दिए ।