नेपाललाई छाडेका एमाले नेताहरूको १० बुँदे कार्यान्वयन गर्न ओलीलाई २ दिनको अल्टिमेटम

काठमाडौं, भदौ ४ : पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका एमाले नेताहरूले १० बुँदे सहमति ‘यथाशीघ्र’ कार्यान्वयन गर्न अध्यक्ष केपी ओलीलाई आग्रह गर्दै दुई दिनको अल्टिमेटम दिएकाछन।

काठमाडौं महाराजगञ्जको एक पार्टी प्यालेसमा भेला भएका पूर्वनेपाल समूहमा रहेका तर उनलाई नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरूले १० बुँदे सहमतिको कार्यान्वयन नै पार्टी एकताको आधार रहेको बताएका हुन् ।

पूर्वनेपाल समूहका स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र सांसदहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो । एक केन्द्रीय सदस्यका अनुसार बैठकले मुलतः तीनवटा निष्कर्ष निकालेको छ– ओलीलाई १० बुँदे सहमतिको यथाशीघ्र कार्यान्वयन र र १४ जना सांसदलाई कारवाही गर्ने निर्णय फिर्ता लिन तथा माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताको निर्णय फिर्ता लिन आग्रह गर्ने ।

१० बुँदे कार्यान्वयनका लागि दिन नतोकी यथाशीघ्र कार्यान्वयनमा ल्याउन अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरिएको ती केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार बैठकले ‘नत्र विद्रोह’ शब्द प्रयोग गरेको छैन । तर, १० बुँदे कार्यान्वयन नभए एमालेमै रहिरहने निष्कर्ष पनि निकालिएको छैन ।

बैठकमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र डा. भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य र गोकर्ण बिष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत ५७ जना नेता उपस्थित थिए ।

माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ । त्यसअघि नै १० बुँदे कार्यान्वयन भए अहिले एमालेमै रहेका केही नेताले विद्रोह गरेर नयाँ पार्टीमा जाने जोखिम रहेको विषय बैठकमा उठेको थियो । उनीहरूलाई रोक्न र हाल नेपाललाई साथ दिएका केही नेतालाई एमालेमै फर्काउन पनि १० बुँदे सहमति कार्यान्वयनको विकल्प नभएको धारणा केन्द्रीय सदस्यहरूले बैठकमा राखेका थिए ।