सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदल हुँदै

धनगढी, भदौ ५ : सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको तयारी भएको छ। नेपाली कांग्रेसका सांसद डा. रणबहादुर रावललाई मुख्यमन्त्री बनाउने तयारी शुरु भएको हो।

अहिले नेकपा (माओवादी केन्द्र)का त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। माओवादी, कांग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी)को संयुक्त गठनबन्धन बन्ने लागेको हो। यसको नेतृत्व कांग्रेसका डा. रावलले गर्ने जनाइएको छ।

गठबन्धनका स्थानीय नेताहरुका अनुसार, भट्टले केही दिनभित्रै मुख्यमन्त्रीबाट राजीनामा दिनेछन्। त्यसपछि गठबन्धनको नयाँ सरकार बन्ने भएको छ। त्यसका लागि मुख्यमन्त्री भट्ट पनि सहमत रहेको जनाइएको छ।

नवगठित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ। त्यसका लागि समिकरण मिलाउन डा. रावललाई मुख्यमन्त्री बनाउन लागिएको जनाइएको छ।

सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार सातै प्रदेशमा गठबन्धनकै सरकार हुनेछ। जसअनुसार, सबै पार्टीलाई समान रुपमा नेतृत्व प्रदान गरिने भएको छ।

प्रदेश २ मा जसपाका लालबाबु राउत मुख्यमन्त्री छन्। अहिले कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा माओवादीका मुख्यमन्त्री छन्। गण्डकीमा कांग्रेसका मुख्यमन्त्री छन्। अब सुदूरपश्चिम पनि कांग्रेसलाई दिन लागिएको हो।

त्यस्तै, प्रदेश १ र बागमतीमा नेकपा (एमाले)का मुख्यमन्त्री रहेका छन्। दुवै प्रदेशमा नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ। त्यहिअनुसार, सुदूरपश्चिममा सरकार फेरबदलको तयारी थालिएको हो।

सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। जसमा कांग्रेसका १२, माओवादीका १३ र जसपाका दुई जना सांसद छन्।

एमालेका २५ सांसद छन्। अहिलेसम्म दुई जनामात्रै नेपाल नेतृत्वको पार्टीमा खुलेका छन्। सरकार गठनका लागि २७ सांसद चाहिन्छन्। यो संख्या विपक्षी गठबन्धनसँग रहेको छ।