मंगलबारकाे एमाले स्थायी कमिटी बैठकमा नेपाल समूह छाडेका नेताहरू पनि सहभागी हुने

काठमाडौं, भदौ ७ : एमालेले मंगलबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ। माधवकुमार नेपाल समूहबाट अलग भएका नेताहरू र एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि स्थायी कमिटी बैठक बोलाइएको हो।

लामो समय नेपाल सममूहमा रहँदै आए पनि पछिल्लो समय अलग्गिएका एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेता आज ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए।

उनीहरुसँगको छलफलमा अध्यक्ष ओलीसँगै महाससचिव ईश्वर पोखरेल पनि सहभागी थिए। बालकोटको छलफलले एमाले एकताका लागि विगतमा गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निष्कर्ष निकालेको जनाइएको छ।

आज बालकोट पुगेका नेताहरु मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा पनि सहभागी हुने जनाइएको छ। भोलि बस्ने बैठकमा १० बुँदे कार्यान्वयनका आधारहरु तयार पारिने एक नेताले बताएका छन्।