माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पायो पार्टी दर्ताको प्रमाणपत्र

काठमाडौं, भदौ ९ : नेकपा एमालेबाट अलगिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।

एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)लाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै उक्त दल आधिकारिक रुपमा आयोगमा दर्ता भएको हो ।

आयोगले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई १६६ नम्बरमा दर्ता गरेको प्रमाणपत्र दिएको हो । 

सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एमालेका ५९ केन्द्रीय सदस्य र ३४ संघीय संसदका सांसदले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्‍याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको थियो ।