दर्ता भयो लोकतान्त्रिक समाजवादी पार्टी

काठमाडौं, भदौ ९ : निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेको छ ।

आयोगमा पुगेर १७ केन्द्रीय सदस्य र १४ सांसदले हस्ताक्षर सनाखत गरेपछि आयोगले बुधबार राति पार्टी दर्ता गर्ने निर्णय दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान सरकारले अध्यादेशमार्फत खुकुलो बनाइदिएसँगै २ भदौमा अध्यक्ष महन्थ ठाकुरले नयाँ दल स्थापनाका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले संसदीय दलको २० प्रतिशत संख्याका आधारमा लोसपा दर्ता गरिदिएको हो ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई साथ दिने निर्णयका कारण जसपामा विभाजन आएको थियो । पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुर नेतृत्वको समूह दलविहीन बनेको थियो । पार्टी दर्तासँगै उक्त समूहले दलको मान्यता पाएकाे छ ।