जनवादी गायक जेबी टुहुरेको निधन

‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भएर …’ बोलको गीतका जनवादी गायक ‘जेबी टुहुरे’ (जुठबहादुर खड्की)को ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएकोछ ।
अघिल्लो हप्ता कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।
मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन ।
टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
को हुन् जेबी टुहुरे
बि.स. २०१६/१७ सालदेखि नै गीत गाउन थालेका टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भएर …’ निकै चर्तित छ । उनका १५० बढी जनवादी गीत रेकर्ड छन् ।
राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । माओवादीले उनलाई दोस्रो संविधानसभामा सदस्य पनि बनाएको थियो ।
२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।