महारोदन

अर्को अर्थ नलागेमा / गाईजात्रा विशेष

‘नजिस्क्याउनोस् न दिदी !’ भन्दै हात जोडेर केटाहरू अर्कैतिर टाउको घुमाउँथे । मैयाँ, कान्छी, नक्कली, च्वाँक जस्ता शब्दहरूको प्रयोगै हरायो । केटीहरूले क्रमशः सिंगारपेटारमा ध्यान दिन छोडे । श्रृंगार प्रसाधनहरूको बिक्री हुन छोड्यो र नयाँ फेशनका लुगा पसलहरू बन्द भए । देह दर्शन गराउने लत्ता, कपडा केटीहरूको जीउबाट खरायोको सीङसरि बिलाए । फुस्रो अनुहार, नकोरिएको कपाल र रंगहीन भद्दा लुगाहरूले उनीहरूलाई आफैंप्रति वैराग्य लाग्न थाल्यो । रेडियो–टेलिभिजनबाट पनि भजन र राष्ट्रिय गीत मात्र सुनिन्थे । सिनेमा–टेलिभिजनको हालत त्यही थियो र साहित्य–सृजनाको पनि । ‘संसारमा आइमाई नहुने हो भने पैसाको कुनै अर्थ छैन’ भन्ने एरिस्टोटल ओनासिस र ‘सत्ता स्वयम् उत्तेजक यौनेच्छा हो’ भन्ने हेनरी किसिंजर जस्ताहरू देखा पर्ने त झन् कुनै सम्भावना नै थिएन ।


एक्काइसौं शताब्दीको पहिलो दशकको उत्तरार्धको कुरा हो । अर्थात् त्यसबेलाको कुरा, जब क–ख–ग–घ देशका छेपाराधर्मी नेताहरू र गधाको सीङ जस्तो आत्मविश्वास भएका सरकारहरूले देशलाई निकै ‘अगाडि’ पुर्याइसकेका थिए । गरीबी, अशिक्षा र भ्रष्टाचारको दौडमा मुलुकले विश्वमै पहिलो स्थान ओगटेको थियो, तीन चौथाइ जनता दरिद्रताको रेखामुनि पुगेका थिए अनि प्रतिवर्ष गोलीबाट सात हजार र भोकबाट सात लाख मानिस मास छर्न जान थालेका थिए । यो सारा गण्डागोलबाट उत्पन्न परिस्थितिका कारण ढालमान ‘कोधी’ — जसलाई बुद्धिमान पनि भनिन्थ्यो — एकाएक सत्ताको बागडोर सम्हाल्न पुग्यो, यद्यपि सामान्य परिस्थिति रहिरहेको भए ऊ सत्तामा पुग्न गोरु ब्याउनु सरह नै थियो । हामी कहाँ जाँदैछौं भन्ने थाहा पाउनुअघि नै जनता कुनै अर्कै ठाउँमा पुगिसकेका थिए ।

नारी दिवसको जुलूस र त्यहाँ लगाइएका नारा टेलिभिजनमा हेर्दै ढालमानको समाज कल्याणमन्त्रीले भन्यो, ‘साँचो कुरा त के भने, महिलालाई कसैले जिस्क्याउन पाउनुहुँदैन भन्ने जन्तुहरू नै हाम्रो बाटाका तगारा हुन् । यिनीहरू देशभरि हाम्रा सभा–समारोहहरूमा विघ्न पार्छन् र सिंहदरबारलाई त यिनले पिकनिक खाने ठाउँजस्तै बनाइसकेका छन् ।’

‘त्यसो भए त यिनीहरूले यसको सजाय पाउनैपर्छ’, ढालमान ‘क्रोधी’ ले भन्यो र कलम समातेर कानूनको खाका कोर्न थाल्यो :

“अब आइन्दा कोक्रामा सुतेकादेखि ब्रह्मनालमा पुर्याइएकासम्म कुनै पनि महिलालाई कसैले जिस्क्याउन पाउनेछैन । बाटो–घाटो, डबली–चौतारी, शहर–बजार, घट्ट–पँधेरो, मेला–उत्सव, स्कूल–क्याम्पस, सडक–गल्ली, घर–अफिस अर्थात् कहीं पनि कुनै पनि पुरुषले महिलालाई छड्के नजरले हेर्न र तिनका ’boutमा कुनै पनि टिप्पणी गर्न पूरै बन्देज लगाइएको छ । महिलाहरूसँग ठट्टा गर्नु फौजदारी अपराध ठहरिनेछ ।

“कथा, कविता र उपन्यासमा महिलालाई प्रत्यक्ष–अप्रत्यक्ष पेच पर्ने गरी लेख्न र नाटक, प्रहसन, सिनेमा, टेलिभिजन आदिमा महिलामाथि ठट्टा गर्न समेत सम्पूर्णतः प्रतिबन्धित गरिएको छ । ठट्टा गर्न मन लागे पुरुषले पुरुषसँग र महिलाले महिलासँग मात्र गर्न पाइनेछ । कानून तोड्नेलाई विना कुनै मुलाहिजा १० वर्षको सश्रम कारावासमा राखिनेछ र कुनै पनि महिलाले कसैका विरुद्ध उजुरी गर्नासाथ उसले कानून तोडेको स्वतः प्रमाणित हुने व्यवस्था गरिएको छ ।”

कानून संसदको दुवै सदनबाट पारित भयो र तुरुन्तै लागू पनि भयो । ढालमान ‘क्रोधी’ को विकराल शासनमा कानून उल्लंघन गरेर बच्ने कल्पनासम्म पनि गर्न सकिंदैनथ्यो, त्यसैले महिलालाई जिस्क्याउने सबैथरीका क्रियाकलाप देशभरि एकैदिनमा रोकिए । घरबाहिरको त कुरै छाडौं, घरभित्र पनि र स्वयं लोग्नेले स्वास्नीसँग पनि ठट्टा गर्न छोडे । कसैले कुनै महिलातिर फर्केर पनि हेर्दैनथ्यो । के थाहा, उसले उजूर गरिदेओस् र उजूर गर्नासाथ कानून बमोजिम विना कुनै छानबीन दश वर्षका लागि सोझै मामाघरमा जाँतो पिंध्न जानुपरोस् !

कानून आएको दिन केही महिलाहरूले भव्य विजय जुलूस निकाले । पुरुषहरूले जिस्क्याउन र ठट्टा गर्न बन्द गरेपछि महिलाहरूलाई तीन दिन आनन्द लाग्यो, हप्ता दिन रमाइलो लाग्यो र त्यसपछि उराठ लाग्न थाल्यो । केहीले आफैं पुरुषहरूसँग जिस्किने कोशिश पनि नगरेका होइनन्, तर पार लागेन ।

‘नजिस्क्याउनोस् न दिदी !’ भन्दै हात जोडेर केटाहरू अर्कैतिर टाउको घुमाउँथे । मैयाँ, कान्छी, नक्कली, च्वाँक जस्ता शब्दहरूको प्रयोगै हरायो । केटीहरूले क्रमशः सिंगारपेटारमा ध्यान दिन छोडे । श्रृंगार प्रसाधनहरूको बिक्री हुन छोड्यो र नयाँ फेशनका लुगा पसलहरू बन्द भए । देह दर्शन गराउने लत्ता, कपडा केटीहरूको जीउबाट खरायोको सीङसरि बिलाए । फुस्रो अनुहार, नकोरिएको कपाल र रंगहीन भद्दा लुगाहरूले उनीहरूलाई आफैंप्रति वैराग्य लाग्न थाल्यो । रेडियो–टेलिभिजनबाट पनि भजन र राष्ट्रिय गीत मात्र सुनिन्थे । सिनेमा–टेलिभिजनको हालत त्यही थियो र साहित्य–सृजनाको पनि । ‘संसारमा आइमाई नहुने हो भने पैसाको कुनै अर्थ छैन’ भन्ने एरिस्टोटल ओनासिस र ‘सत्ता स्वयम् उत्तेजक यौनेच्छा हो’ भन्ने हेनरी किसिंजर जस्ताहरू देखा पर्ने त झन् कुनै सम्भावना नै थिएन ।

नयाँ कानून लागू भएको केही महीना भित्रै महिलाहरूले असह्य उकुसमुकुसको अनुभव गर्न थालेका थिए । उनीहरूलाई जिन्दगीले आफैंलाई छाडेर हिंडेजस्तो लाग्न थालेको थियो । यो अत्यास खप्न नसकेर थुप्रै युवतीहरूले त आत्महत्या पनि गरिसकेका थिए र त्यो क्रम लगातार बढ्दो थियो । वास्तवमा, महिलाहरूलाई जिस्क्याउन नपाउने कानूनप्रति उनीहरूलाई पनि ठूलो पछुतो लागिरहेको थियो, जसले महिला मुक्तिको नाममा न्वारानदेखिको बल निकालेर यसको माग गरिआएका थिए ।

छ महीना पुग्न नपाउँदै नयाँ कानूनको विरोधमा महिलाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिए—  मर्नु परेपछि खुट्टै तन्काएर भन्दै । ‘महिलालाई जिस्क्याउन नपाउने कानून फिर्ता लेऊ’ आन्दोलन ज्यादै सशक्त रूपमा अघि बढ्यो— पहिले यो कानून माग्न गरिएको आन्दोलन भन्दा हजारौं गुणा व्यापक र बलियो भएर । कहिल्यै घरबाट ननिस्कनेहरू पनि पूर्ण जोशका साथ आन्दोलनमा शरीक भए । आन्दोलन–कारिणीहरूको समूह गीत ‘हामीलाई नजिस्क्याउनु हाम्रो अपमान हो, महिलाहरूको अपमान बन्द गर’ अत्यन्त लोकप्रिय भयो । अचम्म के भने यस आन्दोलनको कुनै प्रायोजक अथवा दाता पनि थिएन ।

शान्तिपूर्ण आन्दोलनले सरकारमाथि कुनै असर परेको नदेखिएपछि त्यसले हिंसात्मक रूप लियो । सरकारी कार्यक्रमहरूमा विघ्न पार्न थालियो, मन्त्रीहरूको पुतला जलाइयो, सडकका रेलिङ भाँचिए, प्रहरीहरूमाथि हमला गरियो । जब प्रजातन्त्र दिवस आयो, महिलाहरूले एकअर्काको हात समातेर टुँडिखेल वरिपरि एकसाथ १० वटा घेरा हाले, हरेक जिल्ला सदरमुकाममा समारोह स्थलहरू घेरिए । परिणामतः त्यो वर्ष प्रजातन्त्र दिवसको राष्ट्रिय कार्यक्रम नै ठप्प भयो ।

तैपनि सरकारको कानमा बतास नलागेपछि, अन्तिम कदमका रूपमा, एउटी युवतीलाई गज्जबको उपाय फु¥यो । अरूले सुने र दंग परे । क्या गजब ! यतिका दिनसम्म यस्तो राम्रो उपायतिर कसैको पनि ध्यान किन गएनछ !!

अनि, बकाइदा ‘महारोदन’ कार्यक्रम शुरू भयो । महिलाहरू दश–दश हजारको समूह बनाएर, राजधानीका सार्वजनिक स्थलहरूमा उभिएर डाँको छोडी रुन थाले । कार्यक्रम अरू शहर र जिल्ला सदरमुकामहरूमा पनि एकसाथ शुरू भयो । उनीहरू बस अड्डाहरूमा रोए, सभागृहहरूमा रोए, चोक र डबलीहरूमा रोए, स्कूल–क्याम्पसहरूमा रोए, सरकारी कार्यालयहरूमा रोए, सिनेमाहलहरूमा रोए, मन्दिरहरूमा रोए, खुलामञ्चमा रोए, टुँडिखेलमा रोए, बजारहरूमा रोए, मेलाहरूमा रोए । केटाहरूले केटाहरूमाथि व्यंग्य गरेको हास्य नाटक ‘टुटुल्के’ केटा दर्शकहरूकै कारण छ महीनादेखि हाउसफुल हुँदै आइरहेको थियो, तर प्रज्ञा–प्रतिष्ठानको त्यही हल अगाडि महिलाहरू भयंकर रूपमा रुन थालेकाले त्यो पनि बन्द हुन पुग्यो ।

‘अब के गर्ने ?’ महिलाहरूको महारोदनले देश नै ठप्प होला जस्तो भएपछि समाज कल्याणमन्त्रीले ढालमानलाई सोध्यो । बिचरा मन्त्रीकी भान्सेबाहुनी बिहानबेलुकै खानेकुरामाथि आँसु चुहाइरहेकी थिई र उसकी नोकर्नी घरधन्दा गर्दै दिनभरि रोइरहन्थी । मन्त्राणीज्यूको रुवाइ बिहान पूजा गर्दा र साँझ केटाकेटीलाई लिएर घुम्न जाँदा पनि थामिदैनथ्यो ।

ढालमान ‘क्रोधी’ ले भन्यो, ‘हरेक कुराको एउटा समय हुन्छ । अब संसदका दुवै सदनहरूबाट एउटा प्रस्ताव पारित गरी महिलाहरूलाई जिस्क्याउन नपाउने कानून फिर्ता लेऊ । अनि हेर्नू, उनीहरूले खुशीको जुलूस निकाल्नेछन् ।’

भयो पनि त्यस्तै । कानून फिर्ता लिएको घोषणा भएको दिन सारा महिलाहरू जुलूसका रूपमा सडकमा उत्रे । भव्य श्रृंगार गरेर, नाच्दै–गाउँदै, बडो उमंगसाथ । महलको छतबाट त्यो दृश्य हेरिरहेको ढालमान ‘क्रोधी’ — जसलाई बुद्धिमान पनि भनिन्थ्यो — खित्का छाडेर हाँस्यो र एक्लै बर्बरायो, ‘बिरालोलाई मार्नै छ भने नौनीले उसको मुख टम्म भरिदिनु बाहेक पनि अरू थुप्रै तरीका छन् । …तर मलाई थाहा छैन, यसभन्दा राम्रो अरू कुनै तरीका हुन सक्छ ।’

(बेलायती व्यंग्यकार हेक्टर मुनरोको रचनाबाट प्रेरित)

सत्याग्रह २०५६ फागुन ३० गते सोमवार