गृहमन्त्रीलाई दार्चुला घटना छानविन समितिले बुझायो प्रतिवेदन

काठमाडौं, भदौ १५ : दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली नागरिक जयसिंह धामी नदीमा बेपत्ता घटना छानविन गर्न गठित समितिले मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

समितिको प्रतिवेदन मन्त्री खाँणलाई बुझाइएको जानकारी गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । 

दार्चुलाको व्याँस गाउँपालिका–२ खाङदाङ मालका सोही गाउँपालिका–२ मालघाटबाट तुइनमार्फत भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा जाने क्रममा एसएसबीले तुइन काटिदिँदा १५ साउनमा नदीमा बेपत्ता भएका थिए । १७ साउनमा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

उक्त घटना भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूका संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउमर कानूनी कारवाही गर्न र नदीमा बेपत्ता धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक पहल गर्न समितिले सरकारलाई सिफारिस गरेको छ ।

धामीका आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न पनि समितिले सिफारिस गरेको छ ।