चार वर्षपछि मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै
काठमाडौं, भदौ १७ : आज मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल र भारत भिड्न लागेका छन्।
काठमाडौंको दरशथ रंगशालामा साँझ ५ः३० बजे नेपाल र भारतको खेल हुने भएको छ। आज पहिलो मैत्रीपूर्ण खेल हुन लागेको हो। नेपाल र भारतको टोलीले दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तय गरिएको छ।
यसका लागि भारतीय टोली सोमबार काठमाडौं पुगेको छ। सुनिल क्षेत्रीको नेतृत्वमा २५ सदस्यीय भारतीय टोली नेपाल पुगेको हो।
नेपाल र भारतबीच चार वर्षपछि फुटबल हुन लागेको छ। नेपालले यसअघि सन् २०१७ मा भारतको मुम्बई गएर खेलेको थियो। जसमा भारतले नेपाललाई २-० गोलले पराजित गरेको थियो।
अहिलेसम्म नेपाल र भारबीच १९ वटा खेल भएका छन्। जसमा भारतले १३ र नेपालले दुई खेल जितेको छ। चार वटा खेल बराबरीमा टुंगिएका छन्।
विश्व फुटबल महासंघ (फिफा) को बरियातामा भारत १०५औँ र नेपाल १६८औँ स्थानमा रहेको छ।
नेपाल र भारतबीचको खेल मैदानमै हेर्न पाइने भएको छ। यसका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।
यसका लागि पाँच हजार एक सय दर्शकले रंगशालामा प्रवेश पाउने भएका छन्। अनलाइनबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ। टिकटदर एक हजार र दुई हजार रुपैयाँ रहेको छ।