प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ १७ : प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासका काम कारवाही रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्ति खारेज गर्न माग गर्दै परेका रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट आफू अलग हुने निर्णय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गरेका थिए ।

सर्वोच्चकै न्यायाधीश हरि फुयालको इजलासले बिहीबार प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन नगर्न अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्च अदालतलाई विपक्षी बनाउँदै प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासका काम कारवाही रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेशका साथ विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको हो ।