महामन्त्रीको दौडमा कांग्रेस प्रवक्ता शर्मा पनि

काठमाडौं, भदौ १८ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने दौडमा लागेका छन् ।

२४ भदौमा बीपी जयन्तीको दिन पारेर उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको शर्मा निकटस्थ एक कांग्रेस नेताले जानकारी दिए । उनी नेविसंघको अध्यक्ष बन्दा सह–महामन्त्री मनोनित गरेका कांग्रेस नेता कल्याण गुरुङले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेर चुनावी दौड सुरु गरिसकेका छन् ।

शर्माले भने पार्टी महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी थालेका छन् । उनी निकटस्थ ती कांग्रेस नेताका अनुसार त्यसका लागि पार्टीभित्र आफ्ना शुभेच्छुक र शुभचिन्तकसँग उनले छलफल बाक्लो बनाएका छन् ।

कांग्रेस नेता गगन थापाले पनि पार्टी महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

पार्टी प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको तयारी भइरहेको संकेत गरेका छन् । ‘उम्मेदवारी घोषणा कहिले ?’ उनले लेखेका छन्, ‘शुभचिन्तक मित्रहरू, पार्टीपंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु । प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ । वडा अधिवेशन शुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना । चाँडैनै म मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु ।’

काठमाडौं प्रेससँग भने उनले कुन पदमा उम्मेदवारी दिन लागेको भन्ने खुलाएनन् । शर्माले भने, ‘साथीभाइसँग छलफल गरिरहेको छु । चाँडै सार्वजनिक गर्नेछु ।’