अघिल्लो अधिवेशनमा कुनै विधेयक पेस नगरेका देउवालाई ३७ विधेयकका ‘विजेनस’


काठमाडौं, २३ भदौ: सर्वोच्च अदालतको परामादेशबाट प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आठौँ अधिवेशनमा कुनै पनि विधेयक प्रस्तुत नगरी ‘विजनेस नदिएका’ शेरबहादुर देउवा नेतृत्वको सरकारसँग ३७ वटा विधेयकका चाङ छन् ।

संसद सचिवालयको अभिलेख अनुसार प्रतिनिधिसभाको आठौँ अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता नगरेको देउवा सरकारका लागि संसदलाई ‘विजेनस’दिन अघिल्ला अधिवेशनबाट बिभिन्न चरणमा आएका ३७ वटा विधेयक प्रतिक्षामा रहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको संसद बैठकमा पेस गरिने सम्भावित कार्यसूचीमा कुनै पनि विधेयक राखेका छैन । बरू १५ वटा अध्यादेश पेस हुँदैछ । 

तर, संसदलाई विजेनस दिन सरकारसामु ३७ वटा विधेयक प्रतिक्षाका सूचीमा छन् ।

कुनै पनि विधेयक पेस नगरी १० वटा बैठक मात्र सञ्चालन गरेर अन्त्य गरिएको आठौँ अधिवेशनमा ‘कारागार विधेयक, २०७६’ का सम्बन्धमा भने सम्बन्धित समितिबाट सभामा प्रतिवेदन पेस भएको थियो । सोबाहेक कुनै पनि विधेयकसम्बन्धी काम अघिल्लो अधिवेशनमा भएको थिएन ।

सो अधिवेशनमा १ सय ८२ जना सांसदले शून्य समयमा तथा ५८ जना सांसदले विशेष समयमा समसामयिक विषयमा धारणा राखेको संसद सचिवालयले जनाएको छ ।न्युज कारखाना