पूर्वप्रम आचार्य र पूर्वमुख्यसचिव थापाको शालिक शिलान्यास

आचार्य र थापाको शालिक शिलान्यास निजामती सेवा दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनको निजामती स्मारक निर्माण क्षेत्रमा निजामती सेवा ऐन जारी गर्ने समयका प्रधानमन्त्री टङकप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक शिलान्यास गर्दै मुख्यसचिव शङकरदास वैरागी । तस्बिर : पूर्णप्रसाद मिश्र(रासस)

काठमाडौँ, २३ भदौ : पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ । निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलोपटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिनुभएका उहाँहरुको शालिक बन्न लागेको हो । सो ऐन विसं २०१३ भदौ २२ गते जारी भएको थियो ।

मुख्यसचिव शङ्करदास वैरागीले गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित यज्ञडोल सामुदायिक वनमा निर्माणधीन निजामती स्मारक क्षेत्रमा आज आयोजित कार्यक्रममा शिलान्यास गर्नुभएको हो । अगामी एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो ।

सो अवसरमा मुख्यसचिव वैरागीले चालु आर्थिक वर्षभित्र दुवै शालिक निर्माण सकिने गरी काम गर्न निर्देशन दिनुभयो । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) निर्माणको कार्ययोजना स्वीकृतिको बेलामै मन्त्रिपरिषद्ले कर्मचारीले पदभार ग्रहण गर्नुअघि स्मारकमा माल्यार्पण गर्ने व्यवस्था अर्को वर्षदेखि कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव सुरेश आचार्यले स्मारक क्षेत्रमा निर्माण हुन लागेको युनेस्को ग्रामको अवधारणाले धेरै विषयलाई जोड्ने बताउनुभयो । वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले सामुदायिक वनमा स्मारक निर्माण गरेर पनि वन संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण जगडोल सामुदायिक वनले प्रस्तुत गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व मुख्यसचिव थापाका आफन्त डा पार्थिवेश्वर तिमल्सिना, समितिका अध्यक्ष सिग्देललगायत वक्ताले निजामती इतिहासमा महत्वपूर्ण काम गर्नुभएका दुई व्यक्तित्वको शालिक निर्माणले भावी पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । चालु आर्थिक वर्षमै शालिक निर्माण सम्पन्न गरी अर्को वर्षदेखि निजामती सेवा दिवसको मूल कार्यक्रम स्मारक स्थलमै गर्ने लक्ष्य राखिएको जानकारी गराइएको थियो ।

सो अवसरमा स्मारक निर्माणस्थलमा धुपी, कपुर, अमलालगायत जातका ५० बिरुवा पनि रोपिएको थियो । कार्यक्रममा पूर्वमुख्यसचिव थापाले ९० वर्षअघि लेख्नुभएको पुस्तक ‘छोटो रामायण’ को दोस्रो संस्करण विमोचन गरिइएको थियो । विद्यालय तहका विद्यार्थीलाई रामायणका मुख्य कुरा बुझ्न सजिलो होस् भनी थापाले यो पुस्तक रचना गर्नुभएको उहाँकी नातिनी विद्या भण्डारीले जानकारी दिनुभयो ।

स्मारकको काम अझै बाँकी

विसं २०६८ देखि निर्माण शुरु भएको स्मारकको काम अझै सकिएको छैन । गोकर्णमा राष्ट्रिय शहीद स्मारकसँगै निजामती स्मारक निर्माण भइरहेको छ । असी प्रतिशत भौतिक प्रगति भएर काम अलपत्र भएको समितिका अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत निर्माण सुरु भएको आयोजना मन्त्रालय खारेजीसँगै हाल शहरी विकास मन्त्रालयमार्फत् सञ्चालनमा छ । शहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएको चार वर्ष पूरा भएपनि काममा प्रगति हुन सकेको छैन । डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभीले स्मारक निर्माण ठेक्का पाएको छ । पछिल्लो समय विभागले पनि ध्यान नदिँदा कामममा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ ।

विभागबाट आयोजना प्रमुखका रुपमा काम गरिरहनुभएका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जन अब पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने गरी तयारी भइसकेको बताउनुहुन्छ । चालु आर्थिक वर्षभित्रमा अलपत्र रहेका आयोजनाका सबै काम सम्पन्न गरी स्मारक सञ्चालन हुने उहाँको भनाइ छ ।(रासस)