भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजार
नयाँ दिल्ली, २९ भदौ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार विहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
त्यसैगरी, आइतबार सार्वजनिक गरिएको विवरणमा २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ३३९ जनाको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ती मध्ये केरला राज्यमा मात्रै ९९ जनाको मृत्यु भएको तथ्याङ्क छ । केरलामा थप १५ हजार ५८ जना नयाँ सङ्क्रमित थपिएका छन । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३२ लाख ८७ हजार ५७९ पुगेको छ भने कुल मृतकको सङ्ख्या चार लाख ४३ हजार २१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा झण्डै २५ हजार जना नयाँ सङ्क्रमित हुँदा ३७ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकहरुको सङ्ख्यामा झण्डै १२ हजारले बढी देखिएको छ । दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको छ ।
पछिल्लो विवरणअनुसार भारतमा अहिले तीन लाख ६२ हजार २०७ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या दैनिक घट्दै गएको छ । भारतमा अघिल्लो दिन तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यो सङ्ख्या ८१ दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् । (रासस/एएनआई)