चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको संख्या बढ्न सकेन, दोस्रो पुस्ता हुर्कंदै
-कुलप्रसाद काफ्ले
चितवन, १ असोज : पाँच वर्षअधि चितवन राष्ट्रिय निकुञ्जमा लोप हुन लागेको अर्ना ल्याएपछि सबैको विश्वासको थियो– अब अर्नाको संख्या बढ्नेछ । संरक्षित जनावर अर्ना लोप भएको करिब ५७ वर्षपछि २०७३ सालमा निकुञ्जमा अर्ना स्थानान्तरण गरेर ल्याइयो । सरकारको निर्णयअनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीन गरी १५ वटा अर्ना स्थानान्तरण गरी निकुञ्जको पुरानो पदमपुर फाँटमा खुला खोर (इन्क्लोजर) बनाएर संरक्षण गर्न थालिएको हो ।
यसबीचमा अर्नाको नयाँ पुस्ताको जन्म भइरहेपनि निकुञ्जमा भने अर्नाको संख्या भने बढ्न सकेको छैन । इन्क्लोजरमा अहिले १२ वटा मात्र अर्ना छन् । स्थानान्तरण गरेर ल्याइएका १५ मध्ये ६ वटा मात्र बाँचेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए । पुराना अर्नाले जन्माएका सातमध्ये ६ वटा बच्चा सकुसल छन् ।
‘चिडियाखानाबाट ल्याइएका अर्नाहरू पालुवा जनावर नै थिए । यहाँ इन्क्लोजरमा तारजाली लगाएर बारिएको भए पनि खुला क्षेत्र नै हो । चिडियाखानामा जस्तो पाल्ने भन्ने हुँदैन । जसले गर्दा उनीहरू बाँच्न सकेनन् र ल्याएकै वर्ष केही मरे’, उनले न्युज कारखानासँग भने, ‘कोशीटप्पुबाट ल्याइएका अर्नाहरू बाघ र ठूला चितुवासँग लड्न सक्ने र धपाउन सक्ने खालका थिएनन् । उनीहरूले बाघ नै देखेका थिएनन् । यहाँ आएपछि इक्लोजरमा बाघ छिरेर अर्ना मारेको घटना पनि छ ।’
अर्ना झुण्ड बनाएर बस्ने जनावर हो । कोशीटप्पुबाट ल्याइएका १२ वटा अर्ना एउटै झुण्डका थिएनन् । फरक–फरक झुण्डबाट ल्याइएको र यहाँ ल्याइसकेपछि पनि झुण्डमा नबस्दा २०७४ मा बाघको आक्रमणबाट एउटा अर्ना म¥यो । सोही वर्ष बाढीले बगाएर दुईवटा अर्ना मरे । तीनवटा कालगतिले मरे । बाघको आक्रमण, बाढी र कालगतिले कोशीटप्पुबाट ल्याएका १२ मध्ये ६ वटा अर्ना मरेको उनले बताए ।
‘स्थानान्तरण गरेर ल्याइएका अर्नाले हामीले सोचे जसरी झुण्ड बनाउन र पुनः जंगलीकरण हुन सकेनन् । जसले गर्दा नौवटा अर्ना मर्न पुगे’, उनी भन्छन्, ‘यहाँ आइसकेपछि अर्नाले सातवटा बच्चा जन्माए । एउटा चाँही बाघको आक्रमणबाट मर्यो । ६ वटा भने सकुसल छन् ।’ पुराना ६ वटा र निकुञ्जमा जन्मिएका ६ वटा गरी इन्क्लोजरमा अहिले १२ वटा मात्रै अर्ना रहेको उनले जानकारी दिए । \
संरक्षित जातिको जनावरमा सूचीकृत अर्नाको संरक्षणका लागि निकुञ्जको पुरानो पदमपुर फाँटमा ४८ हेक्टरमा तारजालीले बेरेर इन्क्लोजर बनाइएको हो । सुरूमा ३० हेक्टरको इक्लोजर बनाएर अर्नाको संरक्षण थालिएकोमा आर्थिक वर्ष २०७६÷७७ मा १८ हेक्टर थपिएको हो । निकुञ्जले इन्क्लोजरभित्र पोखरी खन्ने र घाँसको व्यवस्थापन गर्ने गरेको छ ।
निकुञ्जको कोर इलाकामा पर्ने पदमपुरमा बाघ प्रशस्त पाइन्छ । पुराना भइसकेका र नयाँ जन्मिएका अर्नाले बल्ल बाघसँग लड्न सिक्दै गरेको संरक्षण अधिकृत अधिकारी बताउँछन् ।
नयाँ पुस्ताका अर्नाको संख्या बढ्दै जाँदा भने संरक्षणकर्मी खुसी भएका छन् । भएका अर्नाको संरक्षण गर्दै नयाँ पुस्ताको संख्या बढाउनु नै निकुञ्जको प्रमुख चुनौती बनेको छ । कम्तिमा २५ वटासम्मको एउटा झुण्ड बनाउन सके उनीहरूले बाघ लगायतका हिंस्रक जनावरसँग लड्न र जुध्न सक्ने सूचना अधिकारी तथा संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए ।
‘धेरैको संख्यामा झुण्ड बनाउन सके आफैँमा सुरक्षित हुन सक्थे’, उनी भन्छन्, ‘अहिले इन्क्लोजरमा राखे पनि पछि त प्रकृतिमै छाड्ने हो । प्रकृतिमा छाड्नका लागि पनि अहिले भइरहेका अर्नाको संख्या बढाउन जरुरी छ ।’
कुनै जमानामा चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको बासस्थान रहेको र यहाँको वातावरण अर्नाको लागि अनुकुल छ भन्ने एकीन गरेर नै अर्ना स्थानान्तरण गरिएको उनले बताए । अर्नाको बासस्थान विनाश भएपछि विगतमा अर्ना लोप भएका थिए ।(न्युज कारखाना)