विद्या ठूलो कि धन ?
जगदेखि माथिसम्म यति राम्रो भएपछि टुप्पो अर्थात् उच्चशिक्षाको स्थिति योभन्दा ‘नराम्रो’ हुने कुरै भएन । त्यसको हालत के छ भन्ने कुरा त १० वर्ष नेपाली पढाइसकेका ९५ प्रतिशत नेपालीका प्राध्यापकहरूलाई नेपाली शब्दकै परिचय राम्ररी आउँदैन भनेर यही अखबारको सम्पादकीयले गत हप्ता खुला चुनौती दिंदा पनि चुनौती स्वीकार्न कोही अघि नसरेकोबाटै स्पष्ट भइसकेको छ । हलेदो भन्ने प्रमाणित भइसकेपछि कति कोट्याउनु ?

नौ कक्षा पास गरेर तीन वर्ष अघि साउदी अरबतिर लागेका महोत्तरीका दिलीप साह यसपालिको एसएलसीमा प्रथम श्रेणीमा पास भएछन् । उनी उता शेखहरूको सेवामा व्यस्त थिए, अरूहरू यता उनको काममा जुटेछन् । उनको नामबाट विद्यालयले फार्म भरिदिएछ, कसैले जाँच दिएछ र परीक्षा नियन्त्रण कार्यालयले बकाइदा उत्तरपुस्तिका जँचाएर रिजल्ट निकालिदिएछ । मार्कशीट उपलब्ध गराउने त भयो नै ।
क्या हाइसन्चो ! जाँच होस् त यस्तो ! रिजल्ट होस् त यस्तो ! पोजिशन आओस् त यसरी !
‘विद्या ठूलो कि धन ?’ प्रश्नको उत्तर पहिले ‘विद्या’ हुन्थ्यो भने अब ‘धन’ हुने जमाना अएको छ । बिचरा दिलीप साहले त एसएलसी पास गर्न साउदी अरब पुगेर पैसा कमाई लगानी गर्नुपर्यो । त्यसमाथि गाउँठाउँकै छरछिमेकीहरूले उनको उन्नति देख्न सकेनछन् र उजरबाजुर गर्न थालेछन् । तर भाग्यमानीहरूको कुरै बेग्लै हुन्छ । बाबुले कमाएको पैसा उसैले लगानी गरिदिन्छ, स्कूलका प्रिन्सिपल र डाइरेक्टरहरूले दौडधूप गरिदिन्छन् । अनि त ‘मास्टर’ ले जे–जे इम्पोर्टेन्ट भनेर पढायो, जाँचमा त्यही–त्यही प्रश्न आउँछ । जुन विषयमा लेखाइ कमजोर भयो भन्ने ठानेको हुन्छ, त्यही विषयमा बढी नम्बर आउँछ । के हुन लागेको हो भन्ने राम्ररी बुझ्न नपाउँदै आफ्नो नाम ‘पहिलो’ मा आउँछ ।
दिलीप साह जस्ताले एसएलसी प्रथम श्रेणीमा पास गर्न कति लगानी गर्दा हुन्, थाहा छैन । तर यस वर्ष एसएलसीमा सर्वप्रथम हुने मूल्य नेरु १५ लाख पुगेछ । कति राम्रो सर्भिस, कति पारदर्शी सेवा ? लीलाम बढाबढमा फलानोले १५ लाखमा बोर्ड फर्स्ट चप्कायो भन्ने सूचना अखबारहरू मार्फत १५ दिन अगावै प्रवाहित हुने ! एकचोटि लीलामी फाइनल भएर त्यसको सूचना सार्वजनिक भइसकेपछि अर्काले बढी मोल तिर्छु भन्दा नपाउने, कति दरो आचारसंहिता ? (नत्र, आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि १५ लाख भन्दा बढी तिर्न जम्जमाउनेहरू कम थिए होलान् र ? तर अब पछुताएर पो के गर्छौ बाबु हो, बेलामा लोभ गरेपछि !) फेरि काठमाडौंका मानिस महोत्तरीका जस्ता अरूको उन्नति देख्न नसक्ने पनि छैनन्, बोर्ड फस्र्ट हुनासाथ टेलर्सदेखि स्टेशनरी पसलसम्म, मास्टरदेखि कुचीकारसम्म र आमाबाबुदेखि लभरसम्मले अखबारमा फोटोसहित विज्ञापन छपाएर बधाई दिन ताँती लाग्छन् । कस्तो गौरवमय सांस्कृतिक परम्परा !
एसएलसीका उत्तरपुस्तिका ठीकसँग जाँचिंदैनन्, पास हुनुपर्ने मानिस फेल हुन्छ र फेल हुनुपर्ने मानिस पास हुन्छ भन्ने लोकको मान्यतासँग परीक्षा नियन्त्रण कार्यालयका उपल्ला हाकिम पनि सहमत रहेछन् । क्या बात ! पदीय जिम्मेवारी पूरा गर्नु त यसरी ! मन्त्रीले ‘मेरो मन्त्रालयका कर्मचारी घुस्याहा छन्’ भनी हिंड्न हुन्छ भने अरूले यति स्पष्ट अन्तर्वार्ता दिन किन नहुने ? त्यसमाथि ती उत्तरपुस्तिका जाँच्ने परीक्षकहरू पनि त दिलीप साह स्टाइलले नै एसएलसी पास गरेका शिक्षकहरू होलान् नि ? पढ्दै नपढेको कुरा जाँच्न परेपछि लेखे अनुसारकै नम्बर दिनुपर्छ भन्ने के छ र ?
एसएलसीको महान धरोहर उच्च माध्यमिक अर्थात् टेन प्लस टु स्कूलहरूले उत्तिकै उत्साहसाथ सम्हाल्न लागेको थाहा पाउँदा कसलाई खुशी नलाग्ला ? झन् त्यहाँको अवस्था त कति अग्रगामी रहेछ भने ‘बोर्ड’ मा को पर्यो भन्ने कुरा स्कूलहरूले आफआफैं तोक्दा रहेछन् । उच्च माध्यमिक शिक्षा परिषद्को कर्तव्य चाहिं स्कूलहरूले त्यसो गर्नु गैरकानूनी हो भन्ने विज्ञापन छपाई बस्नु रहेछ । ‘मेरो विद्यार्थी सर्वप्रथम’ भनी घोषणा गर्ने स्कूलका प्रिन्सिपलसँग त्यसको प्रमाण के छ भनेर प्रश्न गर्दा उनको उत्तर हुँदोरहेछ, ‘त्यो प्रमाण मै हुँ । मैले भनेपछि बोर्ड–टप भयो । होइन भन्ने को ?’ क्या नोबल आइडिया ? कस्तो अनुशासित र आदर्श व्यवहार ? तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ, यो सब कसरतले के प्रमाणित गर्छ — विद्या ठूलो कि धन ठूलो ?
जग बलियो नभई घर बलियो हुँदैन । माध्यमिक र उच्च माध्यमिक तहको यो सुदृढ शैक्षिक स्थिति प्राथमिक तहको जग बलियो भएकै कारणले हो भनी बुझ्न कुनै आइतवार पर्खनुपर्दैन । प्रस्तुत छन्, दुइटा उदाहरण ।
एक, स्कूलहरू चार कक्षाको विद्यार्थीलाई एउटा गधाको जत्रो भारी बोकाउँछन् । पाठ्यपुस्तकको । त्यसको बोझले थिचिएर उसको दिमाग पनि गधासँगै प्रतिस्पर्धा गर्न तम्सिन थाल्छ । जाँच आउनु भन्दा एक महीना अघिदेखि यो–यो वाक्य र अनुच्छेद पढ, यो–यो प्रश्नको जवाफ पढ भनेर रटाउँछन् । स्पष्ट छ, जाँचमा तिनले त्यही सोध्छन् । विद्यार्थीले पनि त्यही जवाफ लेख्छ र ८०–९० प्रतिशत नम्बर पाउँछ । अनि अभिभावकहरूलाई बोलाउँछन् र तिनका सन्तानले लेखेको ‘उत्तरपुस्तिका’ सहित रिपोर्ट कार्ड थमाउँछन् । अभिभावक दंग पर्छ, वाह ! मेरो बच्चाले क्या लेखेछ भनेर । अर्थात् विद्यार्थी सँगसँगै अभिभावकलाई पनि गधा बनाइन्छ र सोबापत असुलिन्छ चर्को फी ।
दुई, कक्षा पाँचको जाँच स्कूलहरूले लिन्छन्, चारकै जस्तो पाराले । अनि विद्यार्थीहरूलाई कक्षा ६ मा प्रमोशन गर्छन् । नयाँ ड्रेस हाल्न लगाउँछन्, नयाँ कक्षाका किताबहरू किनाउँछन्, नयाँ वर्षका फीहरू तिराउँछन् र कक्षा ६ को पढाइ चालू गराउँछन् । यसपछि कक्षा ५ को जिल्लास्तरीय जाँच आउँछ । विद्यार्थीहरूलाई त्यसमा बसाइन्छ । तिनले पहिले नै मास्टरहरूबाट प्रचुर ढाडस पाएका हुन्छन्, ‘डराउनुपर्दैन, यो जाँचमा फेल भइँदैन ।’ वास्तवमा कोही फेल हुँदैन पनि । चर्को फी तिराइसकेपछि त्यस्ता मूले जिल्लास्तरीय जाँचमा कसैलाई फेल गराउन भयो ?
जगदेखि माथिसम्म यति राम्रो भएपछि टुप्पो अर्थात् उच्चशिक्षाको स्थिति योभन्दा ‘नराम्रो’ हुने कुरै भएन । त्यसको हालत के छ भन्ने कुरा त १० वर्ष नेपाली पढाइसकेका ९५ प्रतिशत नेपालीका प्राध्यापकहरूलाई नेपाली शब्दकै परिचय राम्ररी आउँदैन भनेर यही अखबारको सम्पादकीयले गत हप्ता खुला चुनौती दिंदा पनि चुनौती स्वीकार्न कोही अघि नसरेकोबाटै स्पष्ट भइसकेको छ । हलेदो भन्ने प्रमाणित भइसकेपछि कति कोट्याउनु ? र, यो ‘प्राज्ञिक उच्चता’ को विकासमा पनि विद्या ठूलो कि धन भन्ने प्रश्नकै भूमिका अहम् छ भन्ने निष्कर्ष निस्कियो भने त्यसमा कसैले राय बझाउनुपर्ने कुनै कारण छैन ।
धनको कुरा उठेकाले अर्थशास्त्रीबाटै यसको जवाफ चाहिन्छ भन्ने तपाईंलाई लाग्छ भने तिनैलाई सोध्न जानोस्, जसले पञ्चायतकालमा एक जना उपकुलपतिलाई होटलको बन्द कोठामा ‘मनोरञ्जन’ गराएर त्यसको ब्लू फिल्म खिची उनैलाई देखाएर सो बापत डबल प्रमोशन पाई एकैचोटि विश्वविद्यालयको प्राध्यापक पद पड्काएका थिए र जसको केही वर्ष यता विशेष चल्तीफिर्ती देखिन थालेको छ ।
फ्रेन्च कट दारीले सुसज्जित उनको अनुहार देखेपछि त तपाईंलाई चित्त बुझ्छ कि ?
सत्याग्रह २०५७ असार २६ गते सोमवार