मेरी बास्सै, आफ्नै भूमरीमा आफैं परे धुर्मुस–सुन्तली

प्रश्न त यो पनि उठ्छ कि सरकारले लगानी गरेपछि रंगशाला कसको स्वामित्वमा रहन्छ ? फाउन्डेशनकै या सरकारको ? यदि सरकारकै स्वामित्वमा रहने हो भने, यस्ता संरचना निर्माण गर्ने सरकारकै निश्चित मापदण्ड हुन्छ । सरकारले बोलपत्र आब्हान गर्नुपर्छ । निर्माण कम्पनीको छनौट हुन्छ । कम्पनीले निश्चित रकम र समयमा संरचना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्छ ।


-कुसुम भट्टराई

भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ‘धुर्मुस सुन्तली फाउन्डेशन’का लागि यतिबेला निल्नु न ओकल्नु भएको छ । आफ्नो व्यक्तित्व, लोकप्रियता र क्षमताको सम्यक मुल्यांकन नगरी हैसियतभन्दा धेरै गुणा बढी महत्वाकांक्षा राख्दा देशका चर्चित हास्य कलाकार दम्पतीको यतिबेला हास, परिहास र उपहास भइरहेको छ । 
नियत सफा होला । सपना सुन्दर होला । केही सार्थक काम गरौं भन्ने सदाशयता पनि होला । तर, ‘घाँटी हेरी हाड निल्नू’ भन्ने उक्ति हाम्रा अग्रजले त्यसै रचेका हैनन् । आफूलाई आफ्नो बर्कतभन्दा बढी आँक्दा मानिस आफ्नै भूमरीमा आफैं पर्नसक्छ । 

आफ्नो बर्कतभन्दा परको अति महत्वकांक्षी सपना देख्दा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुंजना घिमिरे (सुन्तली) सकसमा छन् । रंगशाला निर्माण एकाएक रोकिएको छ । रंगशालाको रंग अचानक भंग भएको छ । धुर्मुस सुन्तली आफूहरुलाई धनकै धौधौ भएको करुण धुन सुनाइरहेका छन् । सहयोगको याचना गर्दै सरकारलाई प्रस्तावसमेत प्रस्तुत गरेका छन् । 

मेरी बास्सै, आफ्नै भूमरीमा आफैं परे धुर्मस–सुन्तली । 
कला हृदयको आवाज हो, गणित दिमागको जोड घटाउ हो । कलाकारितामार्फत हृदयको आवाज बोल्ने यी प्रखर कलाकार यतिबेला गणितको उल्झनमा छन् । करीब तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणका क्रममा हालसम्म ५४ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको छ । आमनागरिक र विभिन्न क्षेत्रबाट उठेको सहयोग कूल ३८ करोड ३४ लाख रुपैयाँ मात्र भए पनि फाउन्डेशनले उधारोमा सामग्री ल्याएर काम अघि बढाएको रहेछ । यसक्रममा करिपब १६ करोड ऋण लागिसकेछ । उधारोमा काम गर्न अप्ठ्यारो भएपछि निर्माण कार्य रोक्न बाध्य हुनुपरेको धु.सु.को दुःखेसो छ । 
उफ, घाँटी सानो भयो, हाड ठूलो भयो । हाड घाँटीमा अडकिने नै भयो ।  

फाउन्डेशनले सरकारसँग आर्थिक सहयोग मागेको छ । प्रश्न उठ्छ, कसैको नाममा स्थापित निजी संस्थाले निर्माण गरिरहेको संरचनाका लागि सरकारले आर्थिक सहयोग गर्न मिल्छ ? यस्ता फाउन्डेशन देशमा सयौं छन् । कसलाई दिने, कसलाई नदिने ? दिएमा कुन मापदण्डका आधारमा दिने ? 

प्रश्न त यो पनि उठ्छ कि सरकारले लगानी गरेपछि रंगशाला कसको स्वामित्वमा रहन्छ ? फाउन्डेशनकै या सरकारको ? यदि सरकारकै स्वामित्वमा रहने हो भने, यस्ता संरचना निर्माण गर्ने सरकारकै निश्चित मापदण्ड हुन्छ । सरकारले बोलपत्र आब्हान गर्नुपर्छ । निर्माण कम्पनीको छनौट हुन्छ । कम्पनीले निश्चित रकम र समयमा संरचना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्छ ।

धुर्मुस सुन्तली फाउन्डेशन कुनै ठेकेदार कम्पनी त हैन । यदि हो भने पनि बोलपत्र आब्हान नगरी, मापदण्डमा खरो नउत्री कसरी सरकारले आर्थिक लगानी गर्न मिल्ला ? यस्ता अनेक प्रश्न उठ्न सक्छन्, जसको जवाफ कर तिर्ने जनतालाई सम्बन्धित पक्षले दिनुपर्छ । 

राज्यको ढुकुटी भनेको आम जनताको करबाट जम्मा हुन्छ । खेलकूद क्षेत्रमा राज्यको आफ्नै नीति बमोजिमको लगानी हुन्छ र भइरहेको छ । धुर्मुस सुन्तलीका लागि राज्यले पचास÷साठी करोड अतिरिक्त लगानी गर्नैपर्ने, नगरी नहुने बाध्यता छैन । भरतपुरमा रंगशाला निर्माण सरकारको प्राथमिकता पनि हैन, बजेटमा पनि यसका लागि रकम विनियोजन गरिएको छैन । जनताको सहयोगबाट रंगशाला बनाउने आँट गरिसकेपछि धुर्मुस र सुन्तलीले ६५ प्रतिशत निर्माण कार्य बाँकी रहँदा सरकारसँग सहयोगको याचना गर्नु उनीहरुको लाचारी हो, असफलता हो, लाज पचाएर गरिएको निम्छरो च्याँखे दाउ मात्र हो भनेर किन नभन्ने ? 

स्वधर्म भुलेपछि…
कलाकारितामै रमाएको थियो, यो दम्पती । नेपाल टेलिभिजनमा ‘मेरी बास्सै’ सिरियल लोकप्रिय थियो । विभिन्न महोत्सव र स्टेज कार्यक्रममा यीनको माग चर्को थियो । विभिन्न विज्ञापनमा यीनले काम पाएकै थिए । सामाजिक गतिविधिमा आफुलाई सहभागी गराउने हुटहुटी जाग्यो । भुकम्प पिडितका लागि रौतहटमा ‘सन्तपुर वस्ती’ निर्माणको योजना ल्याए । 
समाज सेवा आफ्नो गच्छे अनुसार गर्ने हो । जोसँग आफूलाई सारा तृष्णा भोग्न चाहिनेभन्दा प्रशस्त रकम छ, उसले त्यो रकम अरुका लागि खर्च गर्नसक्छ । यो स्वाभाविक हो । विश्वका धनीहरुले आफूसँग प्रशस्त भएकै कारण समाजसेवामा पनि लगानी गरिरहेका छन् । तर, आफूसँग नहुनेले अरुसँग चन्दा उठाएर समाज सेवा या पारोपकार गर्छ र त्यसको सारा श्रेय आफैले लिएर ‘महान’ कहलिन्छ भने त्यो चलाखी हो, चतुर चेत हो । ज्ञानीहरु भन्छन्, धुर्तताभन्दा मुर्खता बेस । 

भुकम्प पीडितका लागि घरहरु बनाइदिनु कल्याणकै काम भएकाले धुर्मुस र सुन्तलीलाई चारैतिरबाट सहयोग भयो । सहयोग जुटिसकेपछि उनीहरुले आफ्नो भूमिका विर्सिए । वस्ती निर्माणमा उनीहरु आफै जुटे । आफैं ठेकेदार सरह भए । त्यसो गर्नुको साटो उनीहरुले रकम जुटाउन सहयोगी भूमिका मात्र निर्वाह गरी निर्माणको काम चाहिँ सम्बन्धित क्षेत्रलाई नै सुम्पनु पथ्र्यो । 

हामीकहाँ एउटा विधामा ख्याती या दक्षता कमाएको व्यक्तिले बहुआयामिक ख्याती कमाउन आफ्नो बुताभन्दा बाहिरको क्षेत्रमा पनि हात हाल्ने प्रवृत्ति यदाकदा देखिन्छ । एकाध उदाहरण हेरौं । वरिष्ठ अधिवक्ता शम्भु थापा न्याय क्षेत्रका दिग्गज हस्ती हुन् । वकालतमा उनको प्रतिभा बेजोड नै छ । तर, वकालत गर्दागर्दै खै के लहड चलेर हो, उनी उदयपुरबाट चुनाव लडे । राजनीति उनको क्षेत्र थिएन, न त स्वधर्म नै थियो । अन्ततः उनी हारे । 

चर्चित नायक रवीन्द्र खड्काकै उदाहरण लिउँ । प्रतिभाशाली अभिनेता । ‘भाग्यरेखा’जस्तो हिट चलचित्रका नायक । कलाकारितामै जमेकै थिए, उनको स्वधर्म पनि अभिनय नै हो । तर, २०४७ सालमा बहुदल आएपछि उनी काभ्रेबाट चुनाव लडे । निश्पत्ति के भो ? उनी चुनाव हारे । 

सन् १९८४ मा बलिउड सुपरस्टार अमिताभ बच्चन आफ्नो जन्मथलो इलाहबादबाट काँग्रेसको टिकट पाएर चुनाव लडे । उनले हेमवती नंदन बहुगुणजस्ता दिग्गज हस्तीलाई हराए । तर, राजनीति उनको स्वधर्म थिएन । राजनीतिमा लाग्नासाथ उनका चलचित्र फ्लप हुन थाले । आखिर उनले एकदिन घोषणा गरे, ‘राजनीति मेरो क्षेत्र हैन, म चलचित्रमै रमाउँछु ।’ राजनीति छाडेपछि उनका चलचित्र पुनः हिट हुन थाले । 

माथिका केही पंक्तिमा पंक्तिकारले ‘स्वधर्म’ शब्द प्रयोग गरेको छ । स्वधर्मको अर्थ हो, आफ्नो दक्षता, क्षमता, रुची र लगाव भएको कर्म गर्नु । श्रीमदभागवत गितामा कृष्णले अर्जुनलाई स्वधर्म पालना गर्न सल्लाह दिदै भनेका छन्, ‘अर्जुन, तिमी युद्धकै लागि बनेका हौ । तिम्रो कौशल युद्धमै प्रखर छ । तिम्रो स्वधर्म भनेकै युद्ध गर्नु हो, स्वधर्म पालना गर ।’
महाकवि देवकोटाको स्वधर्म साहित्य रचना थियो, त्यसैले त उनले महान कृतिहरु रचे । देवकोटाले शिक्षा मन्त्री भएर खासै केही गरेनन्, किनकी मन्त्री हुनु उनको स्वधर्म थिएन । कल्पना गरौं, कविता लेख्न छाडेर देवकोटा राजनीतिमा लागेको भए के हुन्थ्यो ? तर उनले स्वधर्म छाडेनन् । 

धुर्मुस र सुन्तलीको दक्षता र प्रतिभा कलाकारिता नै हो । उनीहरुको स्वधर्म नै अभिनय हो, आफ्नो प्रतिभाबाट लोकलाई मन्त्रमुग्ध पार्नकै लागि उनीहरुको जन्म यस धरामा भएको हो । आफ्नो स्वधर्ममा निरन्तर अडिग रहेर आफ्नो विधामा उनीहरुले त्यो उचाई छुनुपथ्र्यो, जसरी कुनै आध्यात्मिक साधकले कठोर साधनाबाट आत्म साक्षात्कार या सिद्धी प्राप्त गर्छ । 
धुर्मुस र सुन्तलीले आफ्नो विधालाई ओझेलमा पारेर स्वधर्मभन्दा भिन्न विधा अँगाले । हँसाउन पो सजिलो थियो, किनकी त्यो उनीहरुले जानेको कला हो । ठेक्का पट्टा, छड, सिमेन्ट, बालुवा, मिस्त्री, कामदार आदि चक्करमा के के ठक्कर खानुपर्छ, त्यसको हेक्का कसरी रहोस् ? अर्बौंको योजनामा के कस्ता लोभीपापीहरुको स्वार्थले दबाब र प्रभावमा पार्न खोज्छ, त्यसको उनीहरुलाई पूर्व जानकारी कसरी होस् ? आम नागरिक र संघ संस्थाबाट अर्बौै रकम चन्दा उठिहाल्छ, रंगशाला बनिहाल्छ भन्ने पूर्व आँकलनले कुनै न कुनै बिन्दुमा गएर हावा खान्छ भन्ने पनि उनीहरुलाई हेक्का भएन । 
शंकालु आँखा कसरी छोप्ने ? 
भरतपुर महानगरपालिकाकी मेयर छिन्, प्रचण्ड पुत्री रेणु दाहाल । रंगशाला बनाएरै छाड्ने उनको पनि संकल्प छ । कृषि क्याम्पसको जग्गा उनैले दिलाइदिइन्, आर्थिक सहयोग पनि गरिन् । आफ्नो क्षेत्रमा अन्र्तराष्ट्रिय रंगशाला बन्नु उनको पनि गर्वकै कुरा होला । 

समाजको शंकालु आँखाले अर्थोक पनि हेरिरहेको हुन्छ । सडक, पुल मात्र हैन, अर्बौंका ठूला आयोजनामा कमिसनको खेल नहुने हैन । मेलम्ची खानेपानी आयोजना होस्, बुढीगन्डकी जलविद्युत आयोजना होस् या अन्य कुनै आयोजना । कमिसनको चक्करका कारण त्यस्ता आयोजना बर्षौंसम्म निर्माण भइरहेका हुँदैनन् । ठूला आयोजनामा सरकारका मन्त्री, कर्मचारी प्रशासन, ठेकेदार, इन्जीनियर आदि हरेकले आफ्नो भाग खोज्छन् । 

गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा हालसम्म जे जति रकम खर्च भयो, त्यसको हिसाब अहिलेसम्म पारदर्शी देखिदैन । फाउन्डेशनले के आधारमा जनता, महानगरपालिका र अन्य सहयोगीबाट दिइएको रकम खर्च गरिरहेको छ ? त्यसको हिसाब कसले हेरिरहेको छ ? कतै चन्दाको धनमा चतुरहरुको रजाई त भइरहेको छैन ? धुर्मुस र सुन्तलीलाई पनि अरु कसैले घुमाइरहेको त छैन ? महायज्ञका क्रममा उठेको करोडौं रकम कहाँ गयो ? किन त्यो फाउन्डेशनले पाउन सकिरहेको छैन ? सहयोग गर्ने बचन दिएका दाताहरुले किन पैसा दिइरहेका छैनन् ? यस्ता अनेक शंका उठ्नु स्वभाविकै हो । 

केपी ओली प्रधानमन्त्री हुँदा उनकै उपस्थितिमा रंगशालाको शिलान्यास गरिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालको भावनात्मक लगाव जोडिएको चितवनमा बन्न लागेको रंगशालालाई ओली सरकारले सहयोग नगर्नु एउटा कुरा, तर अहिले प्रचण्डसहितको गठबन्धनकै सरकार छ । कतै यही मौकामा चौका हान्न सकिन्छ भनेर धुर्मुस सुन्तली फाउन्डेशनलाई सरकारसँग करोडौं आर्थिक सहयोग माग्न कसैले उक्साएको हो की ? कतै यसमा पनि विचौलीया दलालहरुको चलखेल छ कि ? भन्ने प्रश्न पनि उठन सक्छ । समाज हो, शंका गर्ने ठाउँ हुन्जेल गरिरहन्छ ।

सवाल हजारको हैन, सवाल लाखको पनि हैन, सवाल करोड र अर्बको हो । जब सवाल करोड  र अर्बको हुन्छ, तब विभिन्न लोभीपापी तत्वहरु सलबलाउँछन् । असल मान्छेलाई पनि करोड र अर्बले बिचलित बनाइदिन्छ । बिगतमा चन्दा आतंक मच्चाएर बोराका बोरा नोट ओसार्न माहिर तत्वहरु कतै र धुर्मुस र सुन्तलीलाई भडखालोमा हाल्न त खोजिरहेका छैनन् ? भन्ने चिन्ता पनि उनका शुभचिन्तक, फ्यान र आम नागरिक समाजमा छ । 

निकासको उपाय
रंगशालाको काम ३५ प्रतिशत पुरा भइसक्यो । सहयोगीहरुको करोडौं रकम खर्च भइसक्यो । धुर्मुस सुन्तलीले आफ्नो ख्याती भजाएर जसरी रकम संकलन गर्ने उद्देश्य बोकेका थिए, त्यसमा उनीहरु असफल भए । रंगशाला निर्माण गर्ने अभिभारा धुर्मुस र सुन्तलीको मात्र सरोकारको विषय हैन । रंगशाला बनेमा त्यो देशकै सम्पदा हुनेछ । 
अब धुर्मुस र सुन्तलीलाई गणितको उल्झनबाट मुक्त गरौं । उनीहरुलाई हृदयबाटै छचल्किने कलाकै आयाममा पूर्ण रुपमा सक्रिय हुने वातावरण बनाइदिउँ । फाउन्डेशनले रंगशाला जे जति बनेको छ, त्यो तत्काल सरकारलाई हस्तान्तरण गरोस् । खेलकूद मन्त्रालय अन्तर्गतको आयोजनामा परिणत गरियोस् । जनस्तरबाट उठेको रकमलाई सहयोगीको शेयरमा परिणत गरियोस् र रंगशालाबाट हुने नाफा शेयर बमोजिम वितरण गर्ने पद्धति, नियम बनाइयोस् । सरकारले आफ्नै पहलमा यो योजना अघि बढाएर रंगशाला निर्माणलाई पुरा गरोस् । 

रंगशाला निर्माणको सपना देखेर ३५ प्रतिशत काम फत्ते गरेबापत धुर्मुस र सुन्तलीको राष्ट्रिय अभिनन्दन होस् । विभिन्न पदकबाट शुसोभित गरियोस् । र, यो दम्पतीलाई पुनः कला क्षेत्रमा लाग्ने हौसला, प्रोत्साहन, सहयोग र स्याबासी दिइयोस् । लोकप्रिय कलाकारले आफ्नो विधाभन्दा बाहिरको काममा अल्झेर सँधै तनाव, विवाद, शंका र उपहासको शिकार हुने परिस्थितिको अन्त्य गरियोस् । निकासको सही मार्ग यही हो ।