डेढ वर्षपछि गर्जिए गच्छदार- ‘मेरो राजनीतिक जीवन ध्वस्त पार्न ओली सरकारले प्रतिशोध साँधेर अख्तियारको दुरुपयोग गर्यो’

काठमाडौँ, ६ असोज : ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो पचास वर्ष लामो राजनीतिक जीवन समाप्त पार्न र प्रतिशोध साँध्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दुरुपयोग गरिएको बताएका छन् ।

डेढ वर्षको मौनता तोड्दै पहिलो पटक राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रकट भएका नेपाली कांग्रेसका उपसभापति गच्छदारले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले बदनियतपूर्ण ढंगले आफ्नो सार्वजनिक प्रतिष्ठा, इमान्दारिता र योगदानलाई समाप्त पार्न अख्तियारको दुरुपयोग गर्दै आफुमाथि मुद्दा चलाएको बताए ।

‘लामो षड्यन्त्रको श्रृंखलाको रुपमा मेरो प्रतिष्ठा, राजनीतिक निष्ठा तथा इमान्दारिता ध्वस्त पार्ने नियतले यो मुद्दा दायर गरिएको हो’, गच्छदारले भने, ‘मेरो राजनीतिक यात्रा समाप्त गर्ने कलुषित उद्देश्यबाट रचित षड्यन्त्रको फलस्वरुप अख्तियारले म विरुद्ध मुद्दा दायर गरेको हो । यो मुद्दा अबका दिनमा यो देशमा तात्कालीन अधिनायकबादी सरकारको नांगो कदमका रुपमा चित्रित हुनेछ ।’

राजनीतिक प्रतिशोध साँध्न संवैधानिक निकायहरुको दुरुपयोग गर्ने र आफ्नो दुनो नसोझिँदा जो कसैलाई पनि राजनीतिक शिकार बनाउने आपराधिक कर्म हुने गरेको चर्चा गर्र्दै उनले भने, ‘म त्यस्तै कुत्सित उद्देश्यको निशानामा परें, अब बूढी मरिन भन्दा पनि काल पल्केला भन्ने डर छ ।’

प्रधानमन्त्री एवं विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना आफुले भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलादेखि नै प्रारम्भ भएको र त्यो गुरुयोजना आफ्नो निर्देशन र निर्णयले नबनेको उनको स्पष्टोक्ति थियो ।

‘सो गुरुयोजना कार्यान्वयन गर्न तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार प्रकृया अगाडि बढेकोमा तहतह हुँदै मसम्म आएको टिप्पणी बमोजिमको प्रस्ताव उपर निर्णय हुनको लागि मैले मन्त्री परिषदमा प्रस्ताव पेशसम्म गरेको हुँ’, गच्छदारले भने, ‘उक्त प्रस्ताव मन्त्रीपरिषदबाट सर्वसम्मत रुपमा पारित भै कार्यान्वयन अगाडि बढेको हो । मन्त्रीपरिषदको सामूहिक निर्णयको विषयमा विभागीय मन्त्रीको हैसियतले प्रस्तावसम्म पेश गर्ने म उपर मात्रै मुद्दा चलाइएको तथ्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म उपर पूर्वाग्रह राखेको प्रमाणित गर्छ ।’

आफुले व्यक्तिगत रुपमा लाभ लिएको वा नेपाल सरकारलाई हानी पु¥याएको अवस्था नभएकोले सरकारको गुरुयोजना कार्यान्वयन गर्ने प्रस्ताव मन्त्रीपरिषदमा पेश गर्नेसम्मको कार्य कदापी भ्रष्टाचारजन्य कार्य हुन नसक्ने उनको भनाई छ ।

‘मुद्दा निष्पक्ष चलाइएको छैन । पूर्वाग्रह राखेर छानीछानी मुद्दा चलाउने काम भएको छ । उन्मुक्ति दिनु नपर्नेलाई उन्मुक्ति दिइ काखा र पाखा गरिएको विषय सार्वजनिक रुपमै उदांगो भइसकेको छ’, गच्छदारले भने, ‘राजनीतिक पूर्वाग्रहबाट मात्र मलाई तान्ने कार्य गरी कसैकसैलाई दलीय संरक्षण प्रदान गरी मेरो राजनीतिक चरीत्र हत्या गर्ने षड्यन्त्र भएको हो ।’

नेता गच्छदारले अख्तियार पूर्वाग्रही भए पनि न्यायालयबाट न्याय हुने विश्वास व्यक्त गरे ।

‘जसले जे अभियोग लगाए पनि स्वतन्त्र र निष्पक्ष न्यायालयबाट मलाई न्याय हुनेछ भन्ने तथ्यमा रत्तिभर शंका छैन’, उनले भने ।

आफुविरुद्ध संबैधानिक निकायको दुरुपयोग गर्र्दै भएको आक्रमण र अन्याय विरुध्द नेपाली कांग्रेस पार्टीका कार्यकर्ता, पेशाकर्मी र आम जनता नउठे भविश्यमा अरुमाथि पनि यस्तै षड्यन्त्रको तानाबाना बुन्ने खतरा रहने भन्दै उनले सचेत गराए ।

‘जस्तोसुकै षड्यन्त्र गरिए पनि म नागरिक अधिकारको रक्षा, विधिको सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि सदा अग्रपंक्तिमा उभिनेछु’, उनले भने ।

उपसभापति गच्छदार आफ्ना शुभेच्छु, पार्टीका नेता कार्यकर्ता र मित्रहरुसँग प्रत्यक्ष भेटघाट गर्न बिहीबार बिराटनगर जाने भएका छन् ।