दलसम्बन्धी अध्यादेश खारेजी षडयन्त्रपूर्ण : एमाले अध्यक्ष ओली

काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिनुलाई ‘बदनियतपूर्ण’ भन्दै आपत्ति जनाएका छन् ।

आफुलाई भेटन मंगलबार बिहान बालकोट निवास आएका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग अध्यक्ष ओलीले संसदको अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु र संसद चलिरहेका बेला राष्ट्रपतिमार्फत खारेज गर्नु षडयन्त्रपूर्ण र बदनियतपूर्ण भएको बताए ।

प्रधानमन्त्रीलाई ओलीको सन्देश

ओलीका प्रेस सहयोगी रामशरण बजगाईंको प्रेस नोटका अनुसार कानून मन्त्रीमार्फत ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको सन्देश यस्तो छ,

‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।

चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।

अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहेक अन्यत्रबाट हुन सक्दैन ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसदमा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।’