हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह

नयाँ दिल्ली, १४ असोज : अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो । तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ ।

भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् । (रासस/सिन्ह्वा)