कोशी टप्पुमा करेण्ट लागेर हात्तीको मृत्यु

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेण्ट लागेर मरेको पुष्टि गरेको छ ।
आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए । उनकाअनुसार हात्ती आइतबार विहान मृत भेटिएको थियो । केही साता अघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो ।
जसकालागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो । मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो ।(सरल पत्रिका)