धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं, असोज १९ : सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

यसअघि अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो ।

सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आज बर्खास्तीको निर्णय गरेको हो । ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए ।

 बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो । उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । 

उनले आफ्नो पदबाट राजीनामा दिएपछि ढुंगानाले दिन आनाकानी गरेका थिए ।