भाजपाको निमन्त्रणामा कांग्रेस नेताहरु भारत भ्रमणमा जाने

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनीहरू बिहीबार भारत भ्रमणमा जान लागेका हुन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेताहरू अजय चौरसिया र उदयशमशेर राणा चार दिनका लागि भारत भ्रमणमा जाने भएका हुन् । नेता महतको सचिवालयका अनुसार भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालाको निमन्त्रणामा उनीहरू नयाँदिल्ली जान लागेका हुन् ।

यसअघि चौथाइवालेले भदौको पहिलो साता कांग्रेस सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए । कांग्रेसले भाजपालाई बोलाएपछि भाजपाले पनि कांग्रेसलाई बोलाएको राणाले बताए । भ्रमणका क्रममा कांग्रेसको टोलीले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।(सरल पत्रिका)