चेट नहोस् चंगा संस्कृति: भगवान रामले पनि उडाएका थिए चंगा

-कुसुम भट्टराई
काठमाडौं । केही दिनअघि चर्चित पप गायक नवीन के. भट्टराई बाल्यकाल सम्झेर नोस्टाल्जिक भइरहेका थिए । बालापनमा चंगा उडाएका दिनको झझल्कोले सतायो । कहाँ गएर उडाउने चंगा ? कसरी रमाउने चंगा चेटको उल्लासमा ?

केही दशकको अन्तरालमा हेर्दाहेर्दै काठमाडौंमा अग्ला भवन बने । मोबाइल फोन नेटवर्क, एफएम र टिभी प्रशारणका टावरले आकाश छेके । खुला चउरहरुमा घना बस्ती विकास भए । डिल्लीबजारका रैथाने नवीनलाई लाग्यो, फेरी एकपटक चंगा उडाउनुपर्छ र चंगा संस्कृति जोगाउनुपर्छ ।



‘लेट अस रिभाइभ काइट कल्चर, लेट्स फ्लाई काइट’ (आउनुस् चंगा उडाऔं र चंगा संस्कृति पुनजागृत गरौं), गायक नवीनले १३ असोजमा फेसबुक स्टाटस लेखे । जहाँ इच्छा त्यहाँ उपाय । नवीनको यो आव्हानले उनीजस्ता बाल्यकालमा चंगा उडाएर रमाएका मित्रहरुलाई पनि छोयो । एक साथ भेला भएर चंगा उडाउने नवीन र उनका साथीहरुको मनोकांक्षा पुरा गरिदियो, काइट्स नेपालले ।

१८ असोजमा ललितपुर, झम्सीखेलमा आयोजना गरिएको ‘चंगा चेट’ कार्यक्रममा गायक नवीन, ब्लगर सिसन बानियाँ मात्र हैन, पूर्व नवयुराज हृदयेन्द्र शाहसमेत सहभागि भए । अद्भूत थियो, कार्यक्रम । ९ समूहमा विभाजित भएर २७ जना प्रतिश्पर्धीले चंगा उडाए । चंगा उडान, सेल्फी खिचान र खानपानको रौनक छायो ।

‘चंगा उडाउने चलन त हराउनै लागेको छ । यो हाम्रो भावना, संवेदना र संस्कृतिसँग जोडिएको थियो, यसलाई जोगाउन र नयाँ पुस्तालाई जानकारी दिन चंगा चेट कार्यक्रमको आयोजना गरेका हौं’, काइट्स नेपालका विकल चौलागार्इंले भने ।

प्रतियोगितामा प्रथम भएर काइट्स नेपालले २५ हजार रुपैयाँ जित्यो । चंगा उडाउन पाउँदा मख्ख परेका गायक नवीनले पुरस्कार वितरण गर्दै भने, ‘हराउँदै गएको चंगा उडाउने संस्कृति जोगाउन म आएको हुँ । म यो दशैंमा मज्जाले चंगा उडाउनेछु ।’

गायक नवीन छोरा र श्रीमतीका साथ रमाउँदै चंगा उडाइरहेका छन् । तर, काठमाडौंमा चंगा उडाउन अनुकूल आकाश छेकिएको र संस्कृति हराउँदै गएकोमा उनी खिन्न पनि छन् । तैपनि अग्ला भवनको रुफटपमा गएर भए पनि उनी चंगा उडाउन भने चुकिरहेका छैनन् । चाहे त्यो कुनै रेस्टुरेन्टको रुफटप नै किन नहोस् ।

चेट नहोस् चंगा संस्कृति

केही वर्षअघिसम्म पनि असोज लाग्नासाथ काठमाडौंका आकाशमा रंगी बिरंगी चंगा उडीरहेका देखिन्थे । बजारमा चंगा किन्नेहरुको घुईंचो लाग्थ्यो । असन र इन्द्रचोक आसपासका पसलहरुमा चंगा सजाएर राखिएको दृश्य सम्झदै गायक युवराज चौलागाईं भन्छन्, ‘खै अहिले कहाँ गएर चंगा उडाउने ? विजुलीको मात्र हैन, इन्टरनेट र टेलिफोनको तारमै अड्किएला भन्ने डर छ ।’

नेपालमा चंगा संस्कृतिको प्रवध्र्दनमा माधव गोविन्द श्रेष्ठको योगदान छ । माधवले नै पहिलो पटक चंगा बनाएर बेच्न थालेका थिए । यो परम्परा अहिले उनका नातीको पालासम्म आइपुगेको छ । नाती गोविन्द श्रेष्ठ पनि असनमा चंगा बेच्छन्, तर हराउँदो संस्कृतिसँगै व्यापार घटेकोमा यो चंगा व्यवसायी घरानालाई नमज्जा लागेको छ ।

संस्कृति हराउँदै जानुमा चंगा उडाउने खुला आकाश र स्थान नहुनु एउटा कारण हो । अर्को कारण हो, नयाँ पुस्तामाझ मनोरंजनका नयाँ नयाँ आयामको पहुँच । इन्टरनेट, मोबाइलमै झुम्मिएको नयाँ पुस्ता अचेल ‘घोप्टे युग’मा रमाइरहेको छ । हरघडी भर्चुअल फ्रेमभित्र घोप्टो मुन्टो लगाइरहेको आजको पुस्ताले चंगा उडाउन, आकाश र धर्तीको दूरी नाप्न अनि प्राकृतिक आयामको मजा लिन भुलिसकेको छ । भर्चुअल आशक्तिले चंगाको रियल आनन्दसम्म पुग्नै दिएको छैन । अनि कसरी जोगियोस् विज्ञान, धर्म र अध्यात्मसमेत जोडिएको चंगा संस्कृति ?

चंगा संस्कृति मात्र हैन, चंगासमेत बदलिएको छ । कुनैबेला नेपाली कागजका चंगा बन्थे । धागो पनि नेपाली । धागोमा विस्कुटको धुलो, चिम फुटालेर बन्ने सिसाको धुलो र साबुदाना मिसाएर धागोमा ‘माजा’ लगाइन्थ्यो । नेपाली कागजको चंगा र माजा लगाएको धागो ।

माजा लगाएको धागोमा रहेको सिसाको टुक्राले प्रतिश्पर्धी चंगालाई चेट गरिदिन्थ्यो, अनि चंगा उडानको मजा लिइरहेकाहरु भन्थे, ‘टाटेपाटेले धागो छाड्न सकेन रे बे । रातो भाइले माजा लाउन विर्सेछ रे बे ।’

अचेल चंगा र धागो पनि बिदेशबाटै आउँछ । नेपालमै परम्परागत चंगा बन्न छाडेको छ । भारत र चीनबाट आएका सस्ता र कमसल चंगाको बिगबिगी छ । पोलिथिन झोलासमेत स्वास्थ्यका लागि हानिकारक भइरहेको बेला चंगासमेत प्लास्टीकका बन्न थालेका छन्, जसमा चंगाको पुरानो ‘महक’ नै छैन ।

‘पहिला चंगा किनेपछि म सुँघेरै आनन्द लिन्थें, चंगाको महक नै क्या आनन्ददायक हुन्थ्यो, माजा लगाएको धागो र टिल्लीक्क टल्कीएको काठको लट्टाइ घुमाउन पाउँदाको मजा शब्दमा वर्णन गर्न सकिन्न’, भक्तपुर, थिमीका व्यवसायी रामशरण न्यौपाने भन्छन्, ‘मनहराको फाँटमा चेट भएका चंगा बटुल्न जान्थ्यौं, अहिले त्यो फाँटमा पनि घरहरु बनिसके ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष बयोवृद्ध महेशलाल प्रधानले पनि भुलेका छैनन्, केटाकेटीमा चंगा उडाउँदाको मजा । ललितपुरका खुला चउर र फाँटहरुमा अचेल अग्ला घर ठडिएका छन्, जहाँ महेशलाल भदौ नलाग्दै चंगा उडाउन साथीहरुसँग जान्थे ।

‘अहिले त घटस्थापना लागेपछि मात्र आकाशमा एकाध चंगा देखिन्छ । हाम्रो पालामा त भदौ लाग्नासाथ चंगा उडाउने चहलहल हुन्थ्यो’, महेशलाल भन्छन्, ‘हामी त्यसरी दशैं नआउँदै चंगा उडाउन थालेको देखेपछि घरका अभिभावक भन्थे, चंगा उडाउन जाने हैन है राम दलले समाउला ।’

राम दल अर्थात प्रहरी । दशैंमा मात्र चंगा उडाउन पाइने भएकाले अरुबेला प्रहरीले फेला पारे केटाकेटीलाई लखेट्थे । राम दल आए नआएको हेरेर केटाकेटीले चंगा उडाउने गरेको महेशलाल सम्झन्छन् ।

बाल्यकाल काठमाडौंको घट्टेकुलोमा बिताएका र हाल पकनाजोलमा बसोबास गर्दै आएका गुराँस भट्टराइले जान्दा (२०३८ सालतिर)सम्म पनि डिल्लीबजार, घट्टेकुलो, मैतीदेवी, अनामनगर र गौशालासम्म खुला फाँट थियो । यो मौसममा धान लहलह झुलिरहेका हुन्थे । खेतका आली र खुला ठाउँमा उभिएर केटाकेटी चंगा उडाउँथे । जब चंगा चेट हुन्थ्यो, गुराँस चंगा समाउन दौडन्थे । धान खेत फाँडदै चंगा समाउन जाँदा गाली पनि खानुपथ्र्यो ।

‘अहो आकाशमा एउटा दुइटा हैन, दर्जनौं चंगा आपसमा जुधिरहेका हुन्थे, कसको चंगा चेट हुन्छ भनेर हामी कुरीरहन्थ्यौं, चेट हुनासाथ चंगा छोप्न धान खेत फाँड्दै दौडन्थ्यौं, पाइन्टभरी कुरो लाग्थ्यो’, गुराँस सम्झन्छन्, ‘अहिले त आफ्नै घरको कौसीमा चंगा उडाउन पनि मिल्दैन, खै कुन चाहिँ एफएमको टावरले छेक्छ ।’

भगवान रामले उडाएका थिए चंगा

संसारको पहिलो चंगा तीन हजार वर्ष पहिले पातहरुबाट बनाइएको बताइन्छ । प्रामाणिक रुपमा चाहिँ चंगाको इतिहास दुइ हजारवर्ष पुरानो छ । चंगा कसले बनायो, कहिले बनायो, त्यस’boutमा कुनै इतिहास छैन । कालान्तरमा चंगाको खोजी इशापूर्व तेश्रो शताब्दीमा भयो ।

सबैभन्दा पहिला चंगाको आविष्कार चीनमा भएको मानिन्छ । किंवदन्ती अनुसार दुइ हजार वर्षपहिले एकजना चिनियाँ किसान खेतमा काम गर्दै थिए । हावा बेस्सरी चलेछ ।
किसानले आफ्नो टोपी हावाले उडाउला भनेर धागोले बाँधेर राखे । टोपी मजाले हावामा उड्यो । त्यसपछि नै चंगाको आविष्कार भएको भन्ने चिनियाँ किंवदन्ती छ । कालान्तरमा शैन्य अभियान, हावाको बहाव र सन्देश पठाउन चंगाको उपयोग हुन थाल्यो ।

चंगाको रोचक सन्दर्भ के पनि छ भने, एक जना जर्मनी नागरिकले ११ हजार २ सय ८४ वटा चंगा एउटै धागोबाट उडाएर रेकर्डसमेत राखेका छन् । संसारको सबैभन्दा ठूलो चंगाको आकार ६३० मिटरको छ । पूर्वीय सभ्यतामा चाहिँ चंगाको सन्दर्भ चीनको भन्दा पुरानो छ ।

तुलसीदासकृत रामायणका अनुसार भगवान रामले बाल्यकालमा भाइहरु र हनुमानका साथ चंगा उडाएका थिए । पम्पापुरमा हनुमानलाई बोलाइएको थियो, त्यसबेला हनुमान बालक रुपमा थिए । हनुमान आउँदा मकर संक्रान्तिको पर्व मनाइदैथियो । रामले भाइ र मित्रहरुका साथ चंगा उडाउन थाले ।

चंगा उड्दै उड्दै देवलोकसम्म पुग्यो । त्यो चंगा देखेपछि इन्द्रका पुत्र जयन्तकी पत्नी आकर्षित भइन् । उनले चंगा उडाउनेका ’boutमा सोच्न थालिन् । उनलाई लाग्यो, चंगा उडाउने मान्छे पक्कै चंगा लिन आउनेछ । प्रतिक्षा गर्न थालिन् र उडिरहेको चंगा च्याप्प समातिन् ।

धर्तीमा चंगा उडाइरहेका राम र हुनमानले त्यो चंगा देखेनन् । रामले बालक हनुमानलाई चंगा पत्ता लगाउन आग्रह गरे । हनुमान त पवन पुत्र, उड्दै इन्द्रलोक पुगे । उनले कसैले चंगा समातिरहेको देख ।

‘यो त हाम्रो चंगा हो, देउ’, हनुमानले भने ।

जयन्तकी पत्नीले सोधिन्, ‘यो कसको चंगा हो ?’

हनुमानले रामको चंगा भएको बताएपछि जयन्तकी पत्नीले रामको दर्शन गर्ने अभिलाशा राखिन् ।

हनुमानले फर्केर रामलाई त्यो कुरा बताए । रामले हनुमानलाई पठाएर सन्देश दिए, ‘अवश्य, चित्रकुटमा म तिमीलाई दर्शन दिनेछु ।’ हनुमानले रामको सन्देश जयन्तकी पत्नीलाई सुनाइदिए । जयन्तकी स्त्रीले चंगा छाडिदिइन् । र चित्रकुटमा उनले एक दिन रामको दर्शन पनि पाइन् ।

चंगा एक आयाम अनेक

चंगा मनोरंजनको खेल मात्र हैन, यसका धार्मिक, पौराणिक र आध्यात्मिक अर्थ छन् । धार्मिक रुपमा चंगा भनेको पृथ्वी र स्वर्गवीचको सम्पर्क कडी हो । नेपालमा मात्र हैन, श्रीलंका र थाइल्याण्डमा चंगामार्फत स्वर्गसम्म सन्देश पुर्याउने मान्यता छ । चंगा उठाएमा मरेपछि स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

वर्षायाम सकिएपछि जब धान पाक्न लागेको हुन्छ, त्यसबेला पानीको खाँचो पर्दैन । वर्षा भएमा धानबालीमा उल्टो क्षति पुग्छ । पानीका राजा इन्द्रलाई ‘अब पानी नपारेउ’ भन्दै सन्देश पठाउन पनि शरद लागेपछि चंगा उडाउने गरिएको किंवदन्ती छ । अचेल चंगा उडाउने संस्कृति हराएर हो कि, शरद लागेपछि पनि वर्षा भइरहेकै छ । इन्द्रसम्म सन्देश पुगेन कि ?

नेपालमा चंगा संस्कृतिको ठोस लिखत नभए पनि नेवार समुदायमा यो मौखिक इतिहासका रुपमा रहेको छ । चंगा उडाउने संस्कृति काठमाडौंमा इन्द्रजात्रासँग सम्बन्धित भएको संस्कृतिविदहरु बताउँछन् । काठमाडौंमा चोरीको उद्देश्यले आएका इन्द्रलाई पक्रेर सजाय दिएको खुशियाली चंगा उडाउने गरिएको किंवदन्ती छ ।

जापानमा बाबुले छोराको नाममा चंगा उडाउएर छोराको दिर्घायूको कामना गर्छन् । चंगालाई जापानमा वंश परम्परा निरन्तरताको प्रतिक मानिन्छ । केही वर्षपहिले नेपालस्थित जापानी दुताबासले कीर्तिपुर केन्द्रिय क्याम्पसमा आयोजना गरेको चंगा महोत्सवमा यो पँक्तिकार पनि सहभागी थियो । त्यो कार्यक्रममा ठूला आकारका चंगा उडाइएको थियो, मोटो डोरीको सहारामा ।

चीनमा दुष्टात्मा भगाउन चंगा उडाउने गरिन्छ । कोरियामा पनि भूतप्रेत भगाउन चंगा उडाइन्छ । नेपालमा ‘लुतो भगाउने’ पर्व झैं कोरियामा नयाँ वर्षको पूर्णिमाका रात चंगामा ‘अशुभ भागोस्’ लेखी उडाइन्छ र आकाशमा पुगेपछि चँगाको धागो काटिन्छ । अर्थात चंगाबाट ग्रहदशा शान्ति गरिन्छ ।

चंगाको वैज्ञानिक आयाम झन् गहन छ । पृथ्वीको गुरुत्वाकर्षण बललाई जित्दै हावामा सन्तुलीत भएर उड्ने चंगाको विज्ञानले नै हवाइजहाजको आविष्कार गर्ने प्रेरणा मिलेको हो । चराहरु मात्र उडिरहने आकाशमा चंगा उडेपछि मान्छेलाई लाग्यो, आकाशमा अरु कुनै वस्तु पनि उडनसक्दोरहेछ ।

सन् १९०३ मा यही सोचबाट प्रेरित भए, हवाइजहाजका आविष्कारक ओलिभर र विल्भर राइट दाजुभाइ । उनीहरुले हवाइजहाजको खोज गर्नेक्रममा धेरै समयसम्म चंगा उडाएर आकाश र धर्तीको सम्बन्ध नापेका थिए । बेन्जामीन फ्रयाँकलीनले चंगा उडाएरै बिद्युत शक्ति’bout ज्ञान पाएका थिए ।

चंगाबाट आध्यात्मिक बोध

चंगा उडाउनु, उडाएको हेर्नु, चंगा लडाउनु, चंगा चेट गर्नु र चेट भएको चंगा लुट्न दौडनु । यसमा जुन आनन्द आउँछ, यो दैविक आनन्दभन्दा कम हुँदैन ।

चंगा उडाउँदा आध्यात्मिक बोध गर्न सकिन्छ । अस्तीत्व बोध गर्न सकिन्छ । चंगा स्वतन्त्र रुपमा आकाशमा उडीरहे पनि जसरी त्यसको नियन्त्रण तल धर्तीमा रहेको लट्टाई समात्ने मानिसले गर्छ, त्यसैगरी यो समग्र श्रृष्टी र अस्तित्व संचालन गर्ने कुनै लट्टाईकर्ता इश्वर छन् भन्ने बोध गर्न सकिन्छ ।

चंगा उडाउँदा कहिले धागो छाडनुपर्छ, कहिले तान्नुपर्छ । जिवन पनि कहिले कसीलो हुन्छ, कहिले खुकुलो । जीवनमा कहिले सुख हुन्छ, कहिले दुःख ।

चंगा जसरी दायाँ बायाँ ढलपल गर्छ, त्यसले हाम्रो चंचल मनको स्भाव झल्काउँछ । ढलपल गरेको चँगा भुईमा खस्नछ सक्छ, त्यसैगरी यता जाउँ कि उता जाउँ, यसो गरुँ कि उसो गरुँ भनेर ढलपल गरिरहने मन सँधै दुःखी रहन्छ । ढलफल नगरी जसरी चंगा सिधा माथि उडन थाल्छ, त्यसैगरी मन पनि स्थीर र अकम्पीत भयो भने मानिस सफल र आन्दीत हुनसक्छ ।

चंगाले हामीलाई अहंकारी नहुन पनि सिकाउँछ । अहँकाररहित हुनु नै आध्यात्मिक हुनु हो । चंगा जति माथि आकाशमा पुगोस्, तर त्यसको सम्बन्ध धर्तीमा रहेको धागोसँग कायमै रहन्छ । धागो कमजोर भयो अर्थात जग कमजोर भयो भने चंगा चुँडीएर अलपत्र पर्छ । धागो बलियो भयो भने पुनः धर्तीको काखमै विश्राम गर्न आइपुग्छ । मानिस सफल पनि हुनुपर्छ, जीवनलाई व्यर्थै विचमै खेर फालेर चंगा झैं चुडाउनु हुँदैन अर्थात पराजित हुनुहुँदैन भन्ने सन्देश पाउन सकिन्छ ।

तपाइ सफलताको जतिसुकै उचाई छुनुस्, तर टेक्ने धरातल भुल्न हुँदैन, तल झर्नैपर्छ भन्ने तत्वबोध पनि चंगा उडाउँदा गर्न सकिन्छ । विश्वका जुनसुकै मुलुकमा रहुनुस्, वाह्य सभ्यता र संस्कृतिमा जतिसुकै रमाउनुस्, तर आफ्नो माटो, आफ्नो देश, आफ्नो सँस्कृति, परम्परा र मौलिकता भुल्नु हुँदैन भन्ने सन्देश पनि चंगाले दिन्छ ।

यति बहुआयामिक महत्वको चंगा उडाउने हाम्रो संस्कृतिलाई चेट हुन नदिउँ । चंगा उडाउँ, सकिएन भने उडाएको हेरेर भए पनि मनोरंजन लिउँ । संस्कृतिको लट्टाइ हातबाट फुत्किन नदेऔं ।