घान्द्रुकमा जीप दुर्घटना चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु

कास्की, असोज २५ : पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।

पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जिप आज अपराह्न दुर्घटनामा परेको हो।

मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए। 

ग१ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्। जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए।