हिंसा
‘आततायीलाई देख्नासाथ कुनै सोचविचार नगरी मारी नै हाल्नू ।’ — नीतिवचन
को हो त आततायी भनेको ? त्यही नीतिशास्त्र परिभाषित गर्छ— आगजनी गर्ने, विष ख्वाउने, खेतबारी हडप्ने, धनसम्पत्ति लुट्ने, चेलीबेटी अपहरण गर्ने र मार्न हतियार लिएर हिंड्ने (व्यक्ति वा समूह) नै आततायी हो ।
एकातिर कुनै पनि प्राणीको हिंसा नगर्नू भन्ने नैतिक उपदेश, अर्कातिर कसैलाई देख्नासाथ, कुनै सोचविचार नगरी, मारी नै हाल्नू भन्ने तेब्बर कडिकडाउ आदेश । आततायीको वध गर्नैपर्ने अरे । कस्तो अचम्म ! आततायीलाई मार्नु हिंसाभित्र पर्दैन त ?
भर्खर दशैं गयो । पशुबलिका विरुद्ध प्रशस्त आवाज सुनिए । पशु होइन पशुत्वको बलि दिनुपर्ने व्याख्या दोहोर्याइए। तर तिनै देवीको पूजा र कथा–पारायण गर्दै, जसले महिषासुरदेखि चण्ड–मुण्ड र शुम्भ–निशुम्भसम्मको वध गरेकी छन् । तीभित्रको पशुत्व वा राक्षसत्वको होइन, तिनकै वध । भौतिक रूपमै समाप्ति । ‘आततायी’ हरूको भाषामा ‘सफाया’ ।
गान्धीले अहिंसाको सामथ्र्य प्रतिष्ठित गर्नुभएको छ । अंग्रेजहरू सकेसम्म लाठीचार्जबाटै काम चलाउन खोज्थे, त्यसैले गान्धी र उहाँका आदर्श विजयी भए । कल्पना गर्नुहोस्— उहाँ स्टालिनको सोभियत संघ, माओको चीन, किम इल सुङको उत्तर कोरिया, हिटलरको जर्मनी अथवा इदी अमिनको युगान्डामा जन्मिनुभएको भए के हुन्थ्यो ? उहाँको सत्याग्रह पहिले देखा पथ्र्यो कि उहाँले ‘हे राम’ पहिले भन्नुपथ्र्यो?
गान्धीका बाजे–बराजु अर्थात् ऋषिमुनिहरूको इतिवृत्त हेरौं । सबैमाथि करुणा वर्षाउने तिनीहरू अलौकिक शक्तिका स्वामी हुन्थे, तर आततायीका सामु निरुपाय । कुरा सुन्नेलाई पो शास्त्रार्थमा हराउनु अथवा हृदय परिवर्तन गर्नु । कुरै नसुनी काट्न–मार्न तम्सिने उग्रवादीका सामु शास्त्र, ज्ञान, तपोबल र अहिंसाको के जोर चल्नु ? ऋषिमुनिहरूसँग शाप दिएर भस्म पार्न सक्ने सामथ्र्य हुन्थ्यो । तर शाप पनि बोलीकै रूपमा निस्कने हुँदा जसले सुन्छ वा ग्रहण गर्छ उसमाथि मात्र प्रभावी हुँदो रहेछ । सोझा, सज्जनहरूलाई जति भस्म पारे पनि त्यसले आततायीको चाहिं छालासम्म खुत्याउन सकेको देखिंदैन । त्यसैले त तिनलाई वध गरिदिने बहादुर खोजी हिंड्थे उनीहरू ।
भगवान त झन् पूरै सर्वशक्तिमान । प्राणदाता, बुद्धिदाता मात्र होइन, चाहेमा प्रकृतिको नियम पनि उलटपुलट गर्न सक्ने । तर हिरण्यकशिपु, रावण, कंस जस्ता आततायीको बिगबिगी चल्न थालेपछि भगवानका पनि अरू उपाय काम लाग्दा रहेनछन् । अन्तिम उपाय एउटै हुँदो रहेछ— वध ।
गान्धीले गीताबाट अहिंसाको शिक्षा पाउनुभयो । कृष्णको मुखबाट निस्केको त्यही गीता, जसका प्रत्यक्ष श्रोता एवं सर्वोच्च ज्ञाता अर्जुन थिए— जसले कौरवहरूको संहार गरे । हामी देख्छौं— गीताबाट एउटाले हिंसा सिक्यो, अर्काले अहिंसा । अनि कुरो बुझ्न नसकेर जिल्ल पर्छौं । तर गीताबाट कृष्णले न हिंसा सिकाए, न अहिंसा । सिकाए त निष्काम कर्मयोग मात्र । उनले भने— मानवताका यी दुश्मन आफ्नो दुष्कर्मबाट आफैं मक्किइसकेका÷मारिइसकेका छन्; तिमी निमित्त मात्र बन, निष्काम भावले आफ्नो कर्तव्य मात्र पूरा गर । अर्जुन र गान्धी दुवैले बुझेको र व्यवहारमा उतारेको यही हो । यत्ति हो । र, आततायी’bout नीतिवचनको निहितार्थ पनि यही हो ।
भोल्तेयर भन्छन्— म तिम्रो विचारसँग असहमत छु तर विचार व्यक्त गर्न पाउने तिम्रो अधिकारको रक्षाका लागि प्राण रहेसम्म लड्नेछु । कुरो सोर्है आना ठीक । किन भने, विचारको स्वतन्त्रता नै लोकतन्त्रको चुरो हो र सभ्य समाजको पनि । तर, विचारको मखुन्डोमा तपाईंलाई सफाया गर्न बम र बन्दुक आयो भने त्यसको पक्षमा उभिने कि त्यसलाई निषेध गर्ने ? विचारलाई लाश बनाएर त्यसमाथि बूट बजार्दै स्वयम् आतंक मान्छेको आवरणमा उभियो भने के गर्ने ? आततायीले मानव सभ्यतालाई घाइते र लोकतन्त्रलाई धराशायी बनाउँछ । तपाईंको परिवार, समाज, इज्जत–अस्मिता र अस्तित्वमाथि छुरा प्रहार गर्छ । उसलाई नसिध्याए उसले तपाईंलाई नै सिध्याउँछ । अनि, तपाईं के गर्नुहुन्छ ? प्राकृतिक न्यायले के भन्छ ? पुराना नीतिवचनलाई एकछिन बिर्सनोस्, आधुनिक कानूनले आत्मरक्षाको अधिकार दिन्छ कि दिंदैन ?
यसपालिको दशैंले मलाई दिएको उपहार हो— हिंसा र वध एउटै कुरा होइन रहेछन् भन्ने सत्यको ज्ञान । आततायीको संहार गर्नु हिंसा होइन, वध हो । हिंसा नकारात्मक अर्थात् तामसी प्रवृत्तिको उपज हो, वध आत्मरक्षा र लोककल्याणको उद्देश्यले —अन्य विकल्प नरहेको अवस्थामा— गरिने/गर्नुपर्ने विशुद्ध सात्विक कर्तव्य । लोकतन्त्र, विचार स्वतन्त्रता, सभ्यता र अहिंसा मात्र होइन, ‘नागरिक सर्वोच्चता’ समेतको आधारभूमि । वधलाई हिंसा ठानेर म आजसम्म सत्यको भ्रममा असत्यको पछाडि पो दौडिरहेको रहेंछु !
‘आफूले सत्य ठानेर समातेको त असत्य पो रहेछ र सहवासको प्रभावले त्यो असत्यमा अनहद प्रीति पनि बसिसकेको रहेछ भने तापनि त्यसलाई एकदम भूइँमा मिल्काएर लुकेको सत्यताको खोजीमा जीवनको आखिरी सास फुकिदिनु’ लाई आत्मविश्वास मान्नुभएको छ बालकृष्ण समले । तपाईं चाहिं के भन्नुहुन्छ ?
‘यो साता’ २०६६ असोज ३०—कार्तिक ५, शुक्रवार
यस पटक यत्ति नै !
‘अति गर्नु अतिचार नगर्नू’ भन्छन् । छ महीनादेखि शनिवार–शनिवार १०–२०–३० वर्ष पुराना व्यंग्य–आलेखहरू पोस्ट गरिरहेको छु । ‘अतिचार’ पो हुने हो कि जस्तो लाग्न थालेको छ । त्यसैले यो क्रम हाललाई स्थगित गरेको छु । यतिन्जेल मलाई झेलिदिनुभएकोमा हृदयतः अहोभाव व्यक्त गर्दछु । फेरि भेट होला नै ।— वस्ती