मौसम बडा बेइमान छ, तर किन ?
काठमाडौं । वर्षा ऋतु अझै टसको मस छैन । शरद ऋतुलाई ठाउँ छाडिदिनुपर्नेमा उल्टै चटयाङ पानीका साथ गर्जन गरिरहेकै छ ।
हिलोमैलो हटने र पानीको वर्षा हराउने दशैं र शरद ऋतुको महिमा गाउँदै कवि शिरोमणि लेखनाथ पौडेलले लेखेका थिए,
‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा ।’
कवि शिरोमणिका यी पँक्ति पनि देश काल परिस्थिति अनुकुल हुन छाड्यो । यसपाली दशैंको टिकाका दिन खुलेको आकाशमा पर्सिपल्ट अचानक काला बादल मडारिन थाले । चट्याङसहित मुसलधारे वर्षा भयो, जुन कोजाग्रत पूर्णिमासम्म जारी छ, थामिने छाँटै छैन ।
साउने झरीकै पारामा उर्लीएको यो बेमौसमी र विनाशकारक वर्षाका कारण काटन ठिक्क परेको धान ढलेर खेतमै सोत्रयान परेको छ । काटेर सुकाउन राखिएका धान भिजेर कुहिन थालेका छन् । यस वर्ष खाद्यान्न सँकटको कालो बादल मडारिदैछ ।
बेफवाँकको वर्षापछि मुलुकका विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबानमा परेर बुधबारसम्म मर्नेहरुको संख्या पचास नाघिसकेको छ । मर्नेहरुमा इलाम र डोटीमा सबैभन्दा बढी छन्, जहाँ पहिरोले धेरैको ज्यान लियो ।
हुम्ला, धनकुटा, पाँचथर, बैतडी, कालिकोट, डडेधुरा, प्यूठान, सुनसरी र उदयपुरमा पनि बाढी र पहिरोबाट जनधनको क्षति भएका खबरहरु आइरहेका छन् । बझाङमा मात्रै पहिरोमा परी २३ जना बेपत्ता भएका छन् ।
यो समस्या नेपालको मात्र हैन, भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ । बाढीका कारण त्यहाँ कम्तीमा १६ जनाको ज्यान गएको छ । भारतको दक्षिणी राज्य केरलामा पनि हालै आएको बाढीबाट दर्जनौं व्यक्तिको ज्यान गएको थियो ।
मौसम बडा बेइमान हुनुको कारण
हिन्दी चलचित्रको एउटा गीत छ, ‘आज मौसम बडा बेइमान है’
अचेल वास्तवमै मौसम बेइमान हुँदैछ । मौसमले चुनौती दिदैछ, मानव सभ्यतालाई ।
मौसमको ऋतु परम्परासँग तालमेल हुन छाडेको छ । शरद ऋतुमा वर्षा ऋतु खप्टीएझैं छ, अनि वर्षा ऋतुमा शिसिर ।
नभन्दै, यस वर्ष चैत वैशाखमा देशव्यापी डढेलो लाग्यो । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दश वर्षयताकै उच्च विन्दुमा पुगेको डढेलोले मुलुकका ७० भन्दा बढी जिल्लामा बायु प्रदुषण फैलाएको थियो । करीब ८ सय स्थानमा डढेलो लागेको थियो । काठमाडौंको आकाश पुरै ढाक्ने गरी बायु प्रदुषण फैलिएको थियो ।
मनसुन प्रारम्भ हुनासाथ गत असारमा सिन्धुपाल्चोकमा ठूलो बाढी आयो । दुइ दर्जन मानिस मरे । मेलाम्ची खानेपानी परियोजनामा क्षति पुग्यो ।
विश्वव्यापी जलवायु परिवर्तनको असर अब मौसममा पनि पर्न थालेको यसबाट स्पष्ट हुन्छ । पृथ्वीमा भइरहेको प्राकृतिक दोहन, कार्वन उत्सर्जन र हरितगृह प्रभावले गर्दा मौसम नै डाँवाडोल भइरहेको छ ।
संयुक्त राष्ट्रसँघको जलवायु परिवर्तनसम्बन्धी निकायले जारी गरेको प्रतिबेदन अनुसार कार्बन उत्सर्जनका कारण बढीरहेको विश्वको तापक्रमले मौमसी प्रणालीमा गडबडी आउन थालेको छ ।
नभन्दै, गत जुलाइ १९ मा चिनको जङ्जो शहरमा एकैदिन ६२४ मिलिमिटर वर्षा भयो । एकदिनमा परेको पानी खासमा वर्षभरी पर्ने पानी बराबर थियो, जुन आकाशबाट एकैपटक घोप्टीयो । सो भिषण बर्षाका कारण ३३ जनाको ज्यान गयो भने लाखौंको उद्धा गरियो ।
चीनमा भिषण वर्षाको एक साताअघि मात्र पश्चिमी जर्मनीमा बाढीका कारण १७७ जनाको ज्यान गयो र सय बढी मानिस बेपत्ता भए । बेल्जीयममा बाढीबाटै ३७ जना मरे । जर्मन चान्सलर एन्जेला मार्कलले यसरी बिनाशकारी बाढी आउनुको कारण जलबायु परिवर्तन नै भएको बताएका थिए ।
खतरै खतरा
बायुमण्डल, समुद्र र जमीनमा विश्वव्यापी तापक्रम बढाउनुमा मानव नै जिम्मेबार रहेकोमा सँयुक्त राष्ट्र संघले चेतावनी दिएको छ । राष्ट्रसंघको एक प्रतिबेदनमा प्रचण्ड गर्मी, अति वर्षा, सुख्खा र चक्रवातको क्रम विश्वमै बढीरहेको उल्लेख छ । हरितगृह ग्यास उत्सर्जन शताब्दीऔंसम्म जारी रहने भएकाले समुद्र र त्यसको सतहमा असर पर्ने प्रतिबेदनमा उल्लेख छ ।
प्रतिबेदनलाई राष्ट्रसँघले ‘खतराको घन्टी’ भनेको छ । जस अनुसार सन् २१०० सम्म विश्वव्यापी तापक्रम १ दशमलव ५ डिग्री सेल्सीयस या त्योभन्दा बढी हुनेछ ।
सन् २१०० सम्म भारत, अमेरिका, क्यानडा, जापान, न्यूजील्याण्ड, रुस र बेलायतजस्ता मुलुकको अर्थव्यवस्थामा जलवायु परिवर्तनको असर पर्नेछ ।
केही समयपहिले क्याम्ब्रीज विश्वविद्यालयको टिमले १७४ देशमा सन् १९६० पछिको जलवायु तथ्यांकको अध्ययन गरेको थियो । अध्ययन अनुसार पृथ्वीमा बढने १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापमानमा विभिन्न देशको अर्थव्यवस्थाका साथै मानवको अस्तीत्वमाथि पनि खतरा उत्पन्न हुनेछ ।
गत शताब्दीदेखि हालसम्म समुद्रको जलस्तर पनि ८ इन्च बढेको छ । वैश्वीक तापक्रममा भइरहेको बृद्धि र ग्रीन हाउस उत्सर्जन बढदै जाने हो भने यो शताब्दीको अन्त्यसम्म करीब एक तिहाइ खाद्यान्न उत्पन्न सँकट हुने खतरा औंल्याइएको छ ।
संयुक्त राष्ट्र संघद्वारा जारी ‘एमीशन ग्याप रिपोर्ट–२०२०’का अनुसार वैश्विकस्तरमा ग्रिन हाउस उत्सर्जन बृद्धिस्तरले तापमानमा तिब्र बृद्धि हुनेछ । तापमानमा वृद्धि जारी रहेमा सन् २१०० सम्म यो बृद्धि ३ दशमलव २ डिग्रीसम्म पुग्नेछ, जसले गर्दा खाद्यान्न उत्पादन ३१ प्रतिशत र पशुपालनबाट हुने उत्पादन ३४ प्रतिशत घटनेछ ।
पृथ्वीको तापमान बढदै जाँदा वर्षा र सुख्खापनको सन्तुलन बिथोलिएको छ । यसले गर्दा दक्षिण र पूर्व एशियाका साथै अफ्रीकाको साहेल क्षेत्रमा खाद्यान्न उत्पादनमा सबैभन्दा बढी असर हुनेछ । बदलिदो जलबायु र परिस्थितिसँग जुझ्न यी क्षेत्र तयार छैनन् ।
ग्लोवल वार्मिङका कारण यो शताब्दीको अन्त्यसम्म विश्वमा थप ४० लाख बर्ग किलोमिटर क्षेत्र मरुभूमिमा परिणत हुनेछन् । कार्वन उत्सर्जनमा कमी नआएको खण्डमा अमेरिका, रुस र युरोपसम्म फैलिएको बोरियल जंगल एक करोड ८० लाख बर्ग किलोमिटरबाट घटेर एक करोड ४८ लाख बर्गकिलोमिटरमा सिमित हुनेछ ।
विश्वका सोधकर्ताहरुले पेरिस सम्झौता बमोजिम तापक्रमलाई १ दशमलव ५ देखि २ डिग्री सेल्सियसविच रोक्न सफल भएमा यसको प्रभावलाई सिमित गर्न सकिने बताएका छन् । यसबाट हाल बाली उत्पादनमा भइरहेको कमी घटेर ५ प्रतिशत र पशुधनमा भइरहेको घाटा ८ प्रतिशत मात्र रहनेछ ।
विश्वव्यापी कार्वन उत्सर्जनमा विकसीत मुलुक नै अग्रपँक्तिमा छन् । औद्योगिक उत्पादन धेरै गर्ने मुलुकहरु वैश्विक तापक्रम बढनुमा जिम्मेवार छन् । तर, जलवायु परिवर्तनबाट असर चाहिँ भारत, नेपाल लगायत अफ्रीकाका साना र गरीब देशहरुमा बढी परिरहेको छ ।
कार्वन उत्सर्जनमा नेपालजस्तो मुलुकको भूमिका न्यून छ । बढी कार्बन उत्सजर्गन गर्ने मुलुकले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता मुलुकलाई सहयोग गर्नुपर्ने देखिन्छ । यही नोभेम्बरमा हुने जलबायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा नेपालले यही मुद्दा दरिलो गरी उठाउनुपर्ने सरोकारवालाहरुको सल्लाह छ ।