नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोरः नेता सिंह

धादिङ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । बिहीबार धादिङको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधिपद्धति र मूल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन् ।

उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको बताए । पार्टीका वरिष्ठ नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाई थियो । साथै उनले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए ।

‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशील सदस्यता विधि र पद्धति अनुसार वितरण हुनुपर्छ ।’ उनले भने, ‘यस अघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाई छ । पार्टीलाई ठिक ठाउँमा ल्याउन विधि र पद्धतिको सवैले सही ढङ्गले पालना गर्नुपर्ने उनले बताए ।

पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रिएको उनको आरोप छ । अधिवेशन हुँदा सवैलाई पद चाहिने तर पदमा पुगीसकेको पछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्ने उनको भनाई छ । राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए ।

गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले बताए । पार्टी भित्रको ए काँग्रेस, बी कांग्रेस र सी कांग्रेस हटाउनु पर्ने उनको धारणा छ । जनताको ईच्छा र चाहना अनुसार काम गर्नसक्ने पार्टीको रुपमा कांग्रेसकालाई पुनःस्थापित गर्न आफू लागिपरेको उनले दाबी गरे । हरेक आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको बताए ।(सरल पत्रिका)