बाढी पहिरो पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन राष्ट्रपतिको आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गरेकी छन् ।

बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूले विपद्को यस दुःखद् घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ ।’

उनले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन आव्हान गरेकी छन् ।


(सरल पत्रिका)