सत्तरी वर्षको उमेरमा पुरा भो, आमा बन्ने रहर

काठमाडौं । सन्तानको रहरलाई उमेरले छेक्दैन ।

भारत्, गुजरातकी ७० वर्षीया जीवुबेन बालाभाइ रबारीले साढे चार दशकअघिदेखिको सन्तानको रहर पुरा गरेकी छन् ।

विवाहको ४५ वर्षपछि पनि जिबुबेनका सन्तान थिएनन् । निसन्तान हुनुको बेदना सहदै आएकी उनको जीवनमा बुढेशकालमा खुसी ल्याइदिएको छ, ‘आइभिएफ प्रविधि’ले ।

दुइ वर्षपहिले आफ्ना पति वालाभाईका साथ जीवुबेन भुजस्थित एक चिकित्सिककहाँ परामर्शका लागि गएकी थिइन् । चिकित्सकले वृद्धावस्थामा गर्भधारण गर्नु जोखिम हुने सल्ला दिए । तर, जीवुबेनले आफुलाई कुनै हालतमा बच्चा चाहिने ढिपी गरीन् ।

चिकित्सक अन्ततः ‘आइभिएफ प्रविधि’को उपयोग गरेर जीवुबेनलाई आमा बनाउने निधोमा पुगे ।



यो प्रकृयामा कुनै अमुक महिलाको डिम्बको उपयोग गरियो । जीवुबेनका पति बालाभाइको शुक्राणुलाई त्यो डिम्बसँग मिलाइयो ।

डिम्ब र शुक्राणुलाई हुर्काइयो, जिवुबेनको गर्भमा । कुनै पनि महिलाको गर्भाशय कहिल्यै बुढो हुँदैन । तर, मासिक धर्म चाहिँ बन्द हुन्छ ।

कृत्रिम हार्मोन दिएर भ्रुणको विकासका लागि गर्भाशयलाई बलियो बनाइयो । यही कारण जिवुबेन आफ्नो गर्भमा भ्रुणको विकास गर्न सक्षम भइन् ।

आइभिएफ प्रकृयामा सहभागी चिकित्सकका अनुसार यो निकै चुनौतीपूर्ण थियो ।

‘यस खालको गर्भाधारणमा ९ महिनासम्म बच्चालाई हुर्काउने क्रममा महिलाको ज्यान जानसक्ने खतरा रहन्छ’, प्रसूती रोग विशेषज्ञ डा. आनन्द शिंदेले भने, ‘यदि महिला उमेरका कारण मधुमेह, उच्चरक्तचाप, हृदय रोगबाट पिडित छिन् भने यस्तो गर्भावस्था निकै जटील हुनसक्छ ।’

बुढेशकालमा आमा बाबु बनेपनि उनीहरुका सन्तान कम उमेरमै अनाथ हुने सम्भावना रहन्छ ।

‘औसत आयु ८० वर्षलाई मान्ने हो भने ७० वर्षको उमेरमा जन्माइएका बच्चाहरु कम उमेरमै अनाथ हुनसक्छन्, यसर्थ सत्तरी वर्षको उमेरमा बच्चा जन्माउने कि नजन्माउने भन्ने कुरा विवेकमा भर पर्छ’, डा. शिंदेले भने ।

पति या पत्नीमा कुनै खराबी हुँदैमा अब कुनै पनि दम्पती निसन्तान रहनु पर्र्दैन । यही सुविधाको उपयोग गर्दै जीवाबेनभन्दा पहिला पनि भारतकै आन्ध्र प्रदेशमा ७३ वर्षिया मान्गायाम्मा यारामातीले आइभिएफ प्रविधिबाटै जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन् ।

यारामातीका अनुसार निसन्तान भएकोमा उनलाई धेरैले उपहास गर्थे, ‘बाँझी आइमाइ’ भन्दै हेप्थे । उनको जीवनको एउटै धोको थियो, आमा बन्ने ।

आइभिएफ प्रविधिबाट यारामातीको गर्भमा हुर्किएका जुम्ल्याहा छोरीलाई शल्यक्रियाबाट निकालीएको थियो ।

सन् २०१६ मा भारतकै ७० वर्षीया दालिजन्दर कौरले छोरा जन्माएकी थिइन् ।