हामीलाई अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र खिचातानीमा पर्नु छैनः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र विरोधमा नलाग्ने बताएका छन् । प्रेस चौतारी मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष र शक्तिपृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय चाहेको बताएका हुन् ।

उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताए । उनले भने, ‘सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।’

अहिले एमालेको चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अंगको रूपमा हेर्ने बनाउने भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले अदालतको राजनीतिक दाउपेच र गुटबन्दीमा आफूहरु नपर्ने बताए ।

उनले भने, ‘हामीलाई अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र त्यहाँभित्रका खिचातानीमा पर्नु छैन । लोकतन्त्रविरुद्धको ५ जनाको फैसलालाई लिएर जुन उहाँहरु कुरा गरिरहनु भएको छ, त्यो फैसला आएपछि बारले डेलिगेसन गइकन इजलास तोकेको होइन र ?’

उनले लोकतन्त्रको स्तम्भ र देशका तीन वटा अंगमध्येका एउटा अंग सर्वोच्च अदालत जस्तो ठाउँमा यस्तो क्रियाकलाप हुन नहुने बताए । संवैधानिक इजलासका ’boutमा पहिलेदेखि नै प्रश्न उठेको पनि ओलीको भनाइ छ ।

सत्ता गठबन्धनले अहिले प्रणालीमाथि नै प्रहार गरेको उनले आरोप लगाए । उनले भने,‘प्रक्रियागत ढंगले विभिन्न अंग र राज्यका निकायहरुलाई कमजोर पारेर प्रणालीनै कमजोर पार्ने प्रयास भइरहेको छ । तर एमाले जस्तो पार्टी र सचेत जनता भएकोले सिस्टमलाई असफल पार्न सम्भव छैन।’ अध्यक्ष ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताए ।(सरल पत्रिका)