युक्रेनले भन्यो–’हामी नाटोमा सहभागी हुँदैनौ’

मिनिस्क, एजेन्सी । युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आफ्नो देशले नाटोको सदस्यता नलिने बताएका छन्। उनले रुसले कब्जामा लिएको डोनेट्स्क र लुहान्स्कको विषयमा पनि सम्झौंता गर्न आफू तयार रहेको बताएका छन्। युक्रेनी राष्ट्रपतिको पछिल्लो बयानपछि विगत १४ दिनदेखि यस क्षेत्रमा जारी गतिरोध अन्त्य हुने आशा गरिएको छ।
रुसी सेनाले २४ फेब्रुअरीमा डोनेट्स्क र लुहान्स्कमा हमला गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो क्षेत्र युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका थिए।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पछिल्लो बयान यस क्षेत्रमा बढ्दो युद्धको स्थितिलाई कम गर्न सहयोगी सावित हुने विश्लेषकहरूले बताएका छन्। युक्रेन युद्धमा आफ्नो देशलाई युरोपलगायत अमेरिकाले सहयोग गर्न आशा जेलेन्स्कीको थियो। तर, ठोस् सहयोगभन्दा पनि यी देशहरू बक्तब्यवाजीमा उत्रिएका थिए। नाटो ९नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन० युद्धको स्थितिमा रुससँग झगडा मोल्न डराइरहेको छ। यस्तो अवस्थामा नाटोको सदस्यता जोखिमपूर्ण हुने जेलेन्स्कीको बुझाइ छ। रुसले यसअघि युक्रेनलाई चेतावनी दिँदै नाटोको सदस्यता लिए जुनसुकै कार्यवाही गर्न आफू पछि नहट्ने बताएको थियो। रुस नाटोलाई आफ्नो देशविरूद्ध सबैभन्दा ठूलो खतरा मान्छ।
सन् १९४८ मा सोभियत संघले बर्लिन कब्जा गरेपछि पश्चिमी युरोपेली देशमा डरको स्थिति बनेको थियो। यी देशलाई सुरक्षा दिन अमेरिकाले ४ अप्रिल १९४९ मा नाटोको स्थापना गरेको थियो। नाटोमा पश्चिमी युरोप, क्यानडा र अमेरिकालगायत ३० देश सहभागी छन्। यसको कार्यालय बेल्जियमको राजधानी ब्रसेल्समा छ।